शिखरमा बालुवा गिट्टी संकलन गर्ने कम्पनी ५३ लाख नबुझाई फरार, नेतृत्वमा कालो धुंधको छाया

दिपक विष्ट
५ कार्तिक २०८१, सोमबार १५:३८

काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकामा बालुवा गिट्टी संकलन गर्ने ठेकेदार कम्पनी ‘चामण्डा’ ठगी गरेर फरार भएको खुलेको छ । नगरपालिकालाई ५३ लाख रुपैयाँ नबुझाई कम्पनी सम्पर्क बिहिन भएको हो ।

शिखर नगरपालिकाले गत वर्ष बालुवा गिट्टी संकलनका लागि चामण्डा कम्पनीलाई ७५ लाख रुपैयाँको ठेक्का दिएको थियो तर कम्पनीले २२ लाखको पहिलो किस्ता तिरेर बाँकी ५३ लाख नगरपालिकालाई नबुझाई भागेको हो ।

चामण्डा कम्पनीले ठेक्का लिएपछि सुरुमा नै २२ लाख रुपैयाँको नक्कली बैङ्क ग्यारेन्टी रसिद दिएर नगरपालिकालाई छल्न खोजेको थियो । यो छलकपटलाई समयमै नपकड्दा ठेकेदार कम्पनीले आफ्नो कामलाई निरन्तरता दियो र नगरपालिकाले पनि यसलाई बेवास्ता गर्यो । प्रारम्भमा मात्र २२ लाखको पहिलो किस्ता बुझाएको कम्पनीले दोस्रो, तेस्रो र चौथो किस्ता बुझाउन अटेर गरिरह्यो, तर बालुवा गिट्टी संकलनको काम भने रोकिएको थिएन ।

नगरपालिकाले समयमै आवश्यक कदम नचालेपछि ठेकेदार कम्पनीले जेठ मसान्तसम्म पनि बालुवा गिट्टी संकलन जारी राख्यो । नगरपालिकाका जिम्मेवार अधिकारीहरू भने मौन बसे । नगर प्रमुख दिर्घ बलायर र उपप्रमुख सुनिता रावल जोराको नेतृत्वमा रहेको नगरपालिकाले कम्पनीको ठगीप्रति कुनै कडा कदम नचालेको आरोप लगाइएको छ र

ठेकेदार कम्पनीले तीन किस्ता नतिरे पनि कम्पनीका डोजर र स्काईभेटरहरू सेतिनदिको बगरमा काम गरिरह्यो, जसले नगरपालिकामा भ्रष्टाचार र आन्तरिक चलखेलको आशंका बढाएको छ । स्थानीय जनप्रतिनिधिहरूले समेत नगरपालिकाभित्रकै केही व्यक्तिहरूको संलग्नतामा ठेकेदार कम्पनीलाई संरक्षण मिलिरहेको दाबी गरेका छन् । यस्तो अवस्थामा, नगरपालिकाले प्रभावकारी अनुगमन र कारबाही नगरेको भन्दै जनप्रतिनिधिहरूले छानबिनको माग गरेका छन् ।

यो घटनाअघि पनि शिखर नगरपालिकाको बालुवा गिट्टी संकलन ठेक्कामा आर्थिक अनियमितता देखिएको थियो । महालेखा परीक्षकको कार्यालयले यसअघि गरिएको ठेक्कामा १४ लाख रुपैयाँ बेरुजु देखाएको थियो, जसमा ७ लाख के.एस. कम्पनीले बुझायो भने बाँकी ७ लाख नगरपालिकाका कर्मचारीहरूले व्यक्तिगत रूपमा प्रतिब्यक्ति ७१ हजार रुपैयाँ दरले रकम बुझाएर तिरेका थिए । यसले नगरपालिकाको आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ ।

चामण्डा कम्पनीले नगरपालिकालाई ठगेर भागेपछि शिखर नगरपालिकाले जिल्ला अदालत डोटीमा मुद्दा हालेको छ । मुद्दा हाल विचाराधीन अवस्थामा रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शाहले जानकारी दिए । तर, नगरपालिकाले लापरबाही गर्दा ठेकेदार कम्पनीले यसरी ठगी गर्न पाएको जनप्रतिनिधिहरूको आरोप छ ।

नगर प्रमुख बलायर र उपप्रमुख जोराको नेतृत्वमा रहेको शिखर नगरपालिका पछिल्लो समयमा निरन्तर विवादमा तानिँदै आएको छ । बालुवा गिट्टी संकलन विषयमा समेत यस्ता अनियमितता हुँदा नगरपालिकाका प्रमुख अधिकारीहरूको भूमिकाप्रति प्रश्न उठ्न थालेको हो । नगरपालिकाभित्रको भ्रष्टाचार, लापरबाही र आन्तरिक चलखेलले गर्दा नगरको साखमा समेत असर परेको छ ।

यस घटनाले शिखर नगरपालिकाभित्रको कमजोर प्रशासनिक व्यवस्थापनलाई उजागर गरेको छ । समयमै आवश्यक कदम नचाल्दा यस्ता घटनाहरूले आर्थिक अनियमिततालाई बढावा दिने खतरा बढ्ने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*