राताम्य पुँजी बजारः नेप्से ५७ अकंले घट्दा खुुम्चियो परिसूचक, किन बढ्यो त्रास ?

५ कार्तिक २०८१, सोमबार १५:०५

काठमाडौँ । सोमबार शेयर बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगातार चार दिनको वृद्धि पछि पछिल्ला दुई दिनमा बजारमा भारी गिरावट देखिएको हो । बजारको घटावटले लगानीकर्तामा पर्ख र हेरको अवस्था सिर्जना गरेको छ ।

बजारको घट्नुलाई कतिपयले सरकारको भविष्य माथि उठेको प्रश्नसँग जोड्न थालेका छन् । एमाले र कांग्रेसको सरकारको संभावित ढल्ने हल्ला बजारको ओरालोको प्रमुख कारणको रूपमा देखिएको छ । यो अस्थिर राजनीतिक परिप्रेक्ष्यले लगानीकर्तामा चिन्ता ल्याएको छ, जसले बजारलाई दुई दिन ओरालो तिर लगेको हो ।

हालको अवस्थामा बजारमा गिरावट हुनुको कुनै ठोस कारण देखिदैन । यद्यपि, राजनीतिक खटपट र अस्थिरता लगानीकर्तामा त्रासको कारण बनेको छ । लगानीकर्ताहरूको विश्वास छ कि अहिलेको सरकार पुँजी बजारमैत्री रहेको छ तर सरकारको अस्थिरता र ढल्ने हल्लाले बजारमा नकारात्मक प्रभाव पार्न थालेको छ ।

शेयर बजारमा यस्ता घटनाहरूले आर्थिक मर्मत र स्थिरताको आवश्यकता औंल्याइरहेका छन् । सरकारको अगामी कदम र राजनीतिक परिप्रेक्ष्यले बजारको भविष्य निर्धारण गर्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा राताम्य लागेको छ । आज बैंकिङ समूहको २.३० प्रतिशत, विकास बैंक समूहको १.७८ प्रतिशत, फाइनान्स समूहको ३.३८ प्रतिशत, जीवन बीमा समूहको २.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*