लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोले बोलायो साधारणसभा

५ कार्तिक २०८१, सोमबार ०९:३२

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्न मंसिर ७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहानको ८ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । यसका साथै कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा २७ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*