रवि पक्राउसँगै सत्ता गठबन्धन संकटमा, ओलीको हातबाट फेरि संसद भङ्ग हुने खतरा बढ्यो !

४ कार्तिक २०८१, आईतवार १२:०२

काठमाडौं । वर्तमान कांग्रेस-एमाले गठबन्धन भ्रष्टाचारविरुद्ध आवाज उठाउनेमाथि निर्मम ढंगले प्रस्तुत भएसँगै मुलुकको राजनीतिक परिस्थिति नै उल्टिने संघारमा पुगेको छ ।

आफु र आफ्नाहरुको बचाउका लागि कोठे सहमतिबाट निर्मित वर्तमान सत्ता गठबन्धनले प्रतिनिधि सभामा चौथो शक्तिका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई नियोजित ढंगले संगठित अपराधमा थुन्न लगाएको घटनाले वर्तमान (गणतान्त्रिक) व्यवस्थामाथि नै खतरा उत्पन्न भएको संकेत मिलेको हो ।

व्यवस्थामाथिको खतरालाई मध्यनजर गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का केन्द्रीय सदस्य तथा छिङघाई प्रान्तीय सचिव चेन गाङ नेतृत्वको टोली काठमाडौं आइपुगेको छ भने सुरुमा प्रतिपक्षी दल माओवादी केन्द्र नेता प्रचण्ड र सत्तारुढ दल कांग्रेसका नेता शेरबहादुर देउवालाई भेटेको छ । प्रचण्ड, देउवालाई भेटेर मात्रै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको घटनाक्रमले पनि यसलाई संकेत गरेको छ ।

गाङ नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलले खुलेरै आफुहरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर राजनीतिक तहको सम्बन्धलाई महत्व दिने नीति रहेको सुनाएको छ । चिनियाँ टोलीले उठाएको प्रसंगबाटै नेपालमा राजनीतिक दलहरुबीचको अन्तरपार्टी सम्बन्धले खतराको तह पार गरिसकेको संकेत गर्छ ।

वर्तमान सत्ता गठबन्धन आफ्ना गल्ती छोप्नका लागि हद पार गरेर अघि बढेको र विपक्षीहरुले मोर्चाबन्दीलाई तीब्रता दिएको गतिविधिले मंसिर अगावै राजनीतिक उथलपुथल हुने संकेत आइरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निकट एक जानकारले भने, ‘मंसिर अगावै वर्तमान सत्ता गठबन्धन भङ्ग हुन्छ । त्यसका लागि आन्तरिक तथा बाह्य वातावरण मिलिसकेको देखिन्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले विपक्षीहरुको मोर्चालाई अझ कसिलो बनाउँदै लैजाने रणनीति लिएका छन् । शनिबार चितवनमा भएको एक कार्यक्रममा प्रचण्ड र द्वन्द्वकालीन सहयात्री नेत्र विक्रम चन्द विप्लवले एउटै भाषा बोलेका छन् ।

दुबै नेताले माओवादी एकतावद्ध हुनै पर्ने र त्यसो भए ०६४ मा पाएको नतिजा दोहोरीने अभिव्यक्ति दिएका हुन् । उता, आफ्नो सभापतिलाई संगठित अपराधमा थुनिएकाले आक्रोशित रास्वपाले समेत वर्तमान सत्ता गठबन्धनविरुद्धको आन्दोलनलाई तीब्रता दिने निर्णय गरेको छ ।

पार्टी सभापतिलाई अदालतमा उपस्थित गराएपछि आउने आदेश लगत्तैको केन्द्रीय समिति बैठकले ‘भ्रष्टाचारीलाई रोक र ठोक’ अभियान सञ्चालनको प्रस्ताव अनुमोदन गर्ने रास्वपाको केन्द्रीय निर्वाचन आयोगकका एक पदाधिकारीले बीमापोष्टलाई बताए ।

रास्वपा र माओवादी संसदबाटै बाहिरिन सक्ने
वर्तमान सत्ता गठबन्धनकाविरुद्ध प्रतिपक्षमा रहेका माओवादी केन्द्र र रास्वपा संसदबाटै बाहिरिएर सडक संघर्ष गर्न सक्ने सम्भावना समेत बढेर गएको छ । यो विषयमा आन्तरिक छलफल समेत भइसकेको माओवादी केन्द्र निकट एक नेताले बताएका छन् ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०६१ माघ १९ र २०७७ पुस ५ निम्त्याउन सक्छन् । वर्तमान व्यवस्था (गणतन्त्र) संकटमा छ । हामी पूर्ण तयारीका साथ त्यसको प्रतिकार गर्छौ । जसका लागि संसदबाटै बाहिरिन किन नपरोस्, जुनसुकै त्याग गर्न तयार छौँ भन्ने आवाज उठिसकेको छ । त्यसले आन्दोलनको रुप लिन मात्रै बाँकी छ ।’

ज्ञानेन्द्रले गरेको ‘कु’ र आफैंले गरेको संसद विघटनको अपराध वर्तमान प्रधानमन्त्री ओलीले निम्त्याउन सक्ने भन्दै प्रतिपक्षी दलहरुले ‘रोक र ठोक’ अभियान चलाउने तयारी गरेका छन् । जसरी ०६१ माघ १९ ले तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दललाई एकै ठाउँमा ल्याएको थियो, त्यसरी नै ओली सत्ताविरुद्ध सम्पूर्ण शक्ति एक हुने माहोल बनिरहेको उनले बीमा पोष्टलाई बताए ।

ओली फेरि संसद विघटन गर्ने मुडमा
संसद विघटनको असफल दुष्प्रयास गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फेरि तम्सिन थालेको बताइँदै छ । नेपालको प्रजातान्त्रिक इतिहासमा ६ पटक संसद विघटनको प्रयास हुँदा एक पल्ट मात्रै सफल भएको रेकर्ड छ । यो पल्ट ओलीले संसद विघटन गरे, त्यो समग्र संसदीय इतिहासमा साँतौ घटना हुनेछ ।

२०५१ सालमा गिरिजाप्रसाद कोइरालाले सुरु गरेको परम्परालाई ओलीले निरन्तरता मात्रै होइन रकर्ड ब्रेक गर्न खोजिरहका छन् । गिरिजाले फरक–फरक समयमा दुई पल्ट त्यस्तो प्रयास गरेका थिए । ओलीले एकै समयमा दुई पल्ट संसद विघटनको रेकर्ड बनाइसकेका छन् । अब उनले विघटन गरेमा जीपी कोइरालाको रेकर्ड तोडिनेछ । संसदीय इतिहासमा २०५२ सालमा मनमोहन अधिकारीले गरेको संसद विघटन मात्रै सफल भएको छ, जहाँ उनले मध्यावधि निर्वाचन गराएका थिए । ९ महिना सरकार चलाएका उनले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेगरी विशेष अधिवेशन बोलाइएको अवस्थामा प्रतिनिधि सभा विघटन गरेका थिए ।

हालै भएको घटनाले पनि त्यसैलाई प्रतित गर्छ । हाल पार्टी सभापतिले फौजदारी अभियोग व्यहोरिरहेको रास्वपाले पनि केही दिनअघि मात्रै संसदको विशेष अधिवेशन बोलाउन माग गरेको थियो । त्यसको प्रतिक्रिया स्वरुप रास्वपा कै मूली नेतालाई वर्तमान सत्ताले फौजदारी अभियोग लगाएर थुनामा हालिदिएको छ ।

कांग्रेसको एक कित्ता, प्रतिपक्षी एवं विपक्षमा भएका शक्तिहरुबीच भएको छलफलपछि रास्वपाले विशेष अधिवेशनको माग गरेको र जहाँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने तयारी भएकामा विशेष अधिवेशन माग गर्ने पार्टीका सभापतिलाई नै थुन्ने काम भएको यस मामिलाका एक जानकारले बताए ।

यो विषय रविको गिरिफ्तारीपछि पोखरा गएर मात्रै पोखिएको उनले बताए । पार्टी सभापतिको पक्राउविरुद्ध शनिबार पोखरामा भएको प्रदर्शन दौरान रास्वपा सांसद मनिष झाले त्यसको पटाक्षेप गरे । उनले कांग्रेस महामन्त्री गगन थापाले गद्दारी गरेको भन्दै सार्वजनिक रुपमै प्रदर्शनका दौरान बोलेका छन् । घुमाउरो ढंगले उनले भनेका छन्, ‘गगन थापा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको योजना मुताविक हाम्रो सभापतिलाई नियोजित थुन्ने काम भएको हो ।’

तर, झाले कांग्रेसको शेखर कोइराला, गगनथापा समूहसँग भएको सहमति गगनले नै ओलीलाई गएर सुनाएको र हठात रविको गिरफ्तारी भएको कुरा भने ठाडै बोल्न सकेनन् । गगनसँगको लिगेसीका कारण उनले कुरा उप्काएर मात्रै छोडे, कार्यकर्ताले कुराको भेउ नै पाएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*