चालक निदाउँदा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

३० आश्विन २०८१, बुधबार ०९:२८

डडेल्धुरा । महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका-७ नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

यसैगरी, घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं.७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा रहेका छन् । गम्भीर घाइते भएका बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालकलाई निद्रा लागेपछि बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।-तस्वीर : पत्रकार, पुष्कर भण्डारी 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*