हिमालयन उर्जाको अवितरित हकप्रद बाँडफाँड, आजैदेखि रकम फिर्ता गरिने
३० आश्विन २०८१, बुधबार ०९:२०
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ ।
कम्पनीले गत असोज ७ देखि १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र मार्फत शेयर बिक्री खुलाएको थियो । सो अवधिभित्र परेका बोलपत्रहरू असोज २९ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
बाँडफाँडको अन्तिम मूल्य १७१ रुपैयाँ कायम भएको कम्पनीले बताएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
साथै शेयर बाँडफाँडमा नपरेकाहरूको रकम आज असोज ३० गतेदेखि आवेदकले फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने कम्पनीले बताएको छ ।