इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहद्वारा ड्रोन आक्रमण, ४ सैनिक मारिए, साइरन र सेनाको राडारलाई छलेर आक्रमण

२८ आश्विन २०८१, सोमबार ०९:३८

काठमाडौं । चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेस क्याम्पमा ड्रोन हमला गरेको छ । ड्रोन हमलामा इजरायलका ४ सैनिक जवान मारिएको र ६० जनाभन्दा बढी घाइते भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मेजारी हिजबुल्लाहले लिएको छ । हिजबुल्लाहले आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र पारेका बेला उच्च साइरन सतर्कतालाई छल्दै उसले ड्रोन आक्रमण गरेको हो ।

उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले जनाएको छ । हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको जवाफी आक्रमण स्वरूप यो ड्रोन हमला गरेको प्रतिक्रिया दिएको छ ।

इजरायली सेनाका प्रवक्ताले इजरायलले युद्धको सुरुवातदेखि नै (मानवरहित हवाई यान) यूएभीको खतरा सामना गरिरहेको बताएका छन् । ‘हामीले राम्रो सुरक्षा दिनुपर्छ । हामी यस घटनाको छानबिन गर्नेछौं, यसबाट पाठ सिक्नेछौं र सुधार गर्नेछौं,’ उनले भने ।

टाइम्स अफ इजरायलले आईडीएफको प्रारम्भिक अनुसन्धान प्रतिवेदनको हवाला दिँदै लेबनानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू समुन्द्र मार्गबाट इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको छ । यी दुवै मिरसाद ड्रोन थिए, जसलाई इरानमा अबबिल–टी भनिन्छ । यो हिजबुल्लाहको आत्मघाती ड्रोन भएको बताइन्छ ।

इजरायल प्रवेश गरेका दुई ड्रोनलाई इजरायली राडारले ट्रयाक गरेको थियो । तर र ती राडारबाट एकाएक गायब भएका थिए । जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको बताइएको छ । राडारबाट हराएको ड्रोनबाटै आक्रमण भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*