युवाको सक्रिय सहभागितानै बीमा क्षेत्रलाई दरिलो बनाउने अचुक उपाय

२५ आश्विन २०८१, शुक्रबार १२:३०

दशैं, नेपालमा मनाइने एक महत्वपूर्ण चाड हो, जुन परम्परा र संस्कृति झल्काउने पर्वको रूपमा लिइन्छ । यो चाडले केवल धार्मिक र सांस्कृतिक महत्व मात्र राख्दैन । यसले परिवार र समाजलाई एकताको शुत्रमा बाँध्ने कार्य समेत गर्दछ । सबैभन्दा पहिले दशैंको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक मंगलमय शुभकामना । यो चाडसँगै आनन्द, समृद्धि र एकताको भावना ल्याओस् ।

दशैंको अवसरमा, हामी पुराना र भेदभाव भुल्नका लागि तयार हुन्छौं । नयाँ सुरुवातको सन्देशकासाथ अघि बढ्छौं । यो पर्वले हामीलाई एक अर्काप्रतिको प्रेम र सम्मानको महत्व बुझाउँछ । म प्रार्थना गर्दछु कि यो दशैंले सबैका लागि खुसी, स्वास्थ्य र समृद्धि ल्याओस् ।

दशैंको अवसरमा युवा जगतलाई केही भन्नै पर्ने कुरा छन् । बीमा क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण छ । विशेषगरी आजको समयमा जहाँ वित्तीय सुरक्षा र दीर्घकालीन योजना प्राथमिकतामा पर्दछन् त्यहाँ युवा पुस्ताको खाँचो छ । युवाहरु नवीनतम प्रविधिमा दक्ष छन् । जुन जमातले डिजिटल प्लेटफर्मको प्रयोग गरेर बीमा क्षेत्रलाई अग्र मोर्चामा उभ्याउन सक्छन् ।

युवाले बीमा क्षेत्रमा आफ्नो ऊर्जा, उत्साह, र नवीनतम् सोंचद्वारा नयाँ योजनाहरु, नीतिहरू र सेवाहरू विकास गर्न सक्दछन् । उनीहरूले प्रविधिको प्रभावकारी प्रयोगमार्फत बीमा प्रक्रियाहरूलाई सरल, सहज, छिटो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छन् ।

त्यति मात्रै नभई, युवाहरूले सामाजिक सञ्जालमा सजिलै बीमा सम्बन्धी सचेतना फैलाउन सक्दछन्, जसले व्यापक जनसंख्यालाई बीमातर्फ प्रेरित गर्न सक्दछ । तसर्थ, बीमा क्षेत्रमा युवाको योगदानले वित्तीय समावेशिता, प्रविधिको उच्चतम उपयोग र जनचेतनाको अभिवृद्धि जस्ता पक्षमा उल्लेखनीय प्रभाव पार्ने कुरामा हामीले समयमै सोच्नु पर्दछ ।

१. युवाको सक्रियता र योगदानः

–युवा वर्ग बीमा व्यवसायको एक महत्वपूर्ण शक्ति हो, जसले केवल बीमा क्षेत्रको प्रविधिकरणमा योगदान मात्रै दिँदैन । बीमा सेवाहरूको विकास र प्रवद्र्धनमा समेत सक्रिय भूमिका खेल्ने ठूलो हिस्सा हो ।
–नयाँ विचार र दृष्टिकोणका साथ, युवाले बीमा उद्योगमा नवीनता र प्रतिस्पर्धा ल्याउन सक्छन् ।

२. प्रविधिको प्रयोगः

–युवा वर्गले डिजिटल प्रविधिको राम्रो ज्ञान राख्दछ, जसले बीमा प्रक्रियाहरूलाई छिटो र सरल बनाउन मद्दत गर्नेछ ।
–मोबाइल एप्स, अनलाइन प्लेटफर्महरू र डिजिटल मार्केटिङको माध्यमबाट बीमा सेवालाई युवाले अधिकतम पहुँचमा ल्याउन सक्छन् ।

३. जनचेतना र सचेतना फैलाउने भूमिकाः

–युवा वर्गले सामाजिक सञ्जालको माध्यमबाट बीमा र यसको महत्वबारे जनचेतना फैलाउन सक्छन् ।
–बीमा जस्ता विषयलाई सरल र रोचक ढंगले प्रस्तुत गरेर उनीहरूले ठूलो संख्यामा युवालाई बीमा गराउन प्रोत्साहन गर्न सक्छन् ।

४.भविष्यका बीमाकारका रूपमाः

–बीमा क्षेत्रका लागि भविष्यका बीमाकर्मीको रूपमा युवाको विकास महत्वपूर्ण छ ।
–युवाले विविध बीमामा विशेष ज्ञान र दक्षता हासिल गरेर यस क्षेत्रमा आफ्नो करियर निर्माण गर्न सक्छन् ।

५.सामाजिक र आर्थिक विकासमा योगदानः

–बीमा क्षेत्रमा युवाको संलग्नताले समग्र सामाजिक र आर्थिक विकासमा समेत सार्थक भूमिका खेल्दछ ।
–युवाको संलग्नताले बीमा सेवाको पहुँचमा वृद्धि हुनुको साथै जनताको वित्तीय सुरक्षा र स्थिरता समेत बढ्न सक्छ ।

६. सामाजिक उत्तरदायित्व र समावेशिताः

–युवाहरूले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर काम गर्दा सामाजिक समावेशिता र नीतिगत विकासमा अर्थपूर्ण योगदान गर्न सक्छन् ।
–बीमा क्षेत्रले समाजका विभिन्न तह तप्काका व्यक्तिहरूलाई समावेश गरेर सामाजिक सुरक्षाका साथै र समृद्धिको मार्ग प्रसस्त गर्दछ ।

निष्कर्षः
युवाको जगतले केवल उद्योगको विकासमा मद्दत गर्दैन बीमाका माध्यमले सामाजिक र आर्थिक चक्र सुधार्नमा पनि योगदान गर्नेछन् । तसर्थ, युवालाई प्रोत्साहित गर्न र उनीहरूको क्षमता विकास गर्नका लागि विभिन्न पहलहरू गर्न आवश्यक छ । युवाको सक्रिय सहभागिता नै बीमा क्षेत्रलाई नवीन, समावेशी र दिगो दरिलो बनाउन अचुक उपाय हुनसक्छ । यसबारे निधो गर्न विलम्ब नगरौँ ।

–शिव श्रेष्ठ हाल आइएमई प्रुडेन्सियल इन्स्योरेन्समा आवद्ध छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*