दशैं आउनु दुई महिना अघिदेखि नयाँ लुगा र खसीको पखाईमा हुन्थ्यौं : अध्यक्ष सूर्यप्रसाद सिलवाल (भिडियोसहित)

रिना खत्री
२४ आश्विन २०८१, बिहीबार १६:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस वर्षको दशैं काठमाडौंमा परिवारसँग बसेर मनाउँदै छन् । अध्यक्ष सिलवालले यो पटक दशैं परिवारको साथमा बसेर मनाउने योजना बनाएका हुन् ।

बाल्यकालको दशैं अचम्मै रमाइलो हुने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘आजकल हाम्रो बाल्यकाल जस्तो दशैं मनाउदैनन् जस्तो लाग्छ । हाम्रो पालामा त दुई महिनाअघि देखि नै दशैंको उमंग छाउँथ्यो । दशैं कतै परबाट आउँदैछ भन्ने भान पूर्ववत रुपमा हुन्थ्यो । दुई महिनाअघि नै हामीले दशैंको तयारीमा रहन्थ्यौं ।’

‘कहिले बुबा घर आउनु होला र नयाँ लुगा किन्न पाँउला । नयाँ जुत्ता–मोजा र रोजाइका अन्य सामान किन्ने आशा र हुटहुटीमा हामी दशैंअघिका २ महिना बिताउथ्यौं, उनले अगाडि भने, ‘घरमा बुबा आएपछि घरमा खसी कहिले ल्याउनुहुन्छ ? भन्ने पखाईमा हुन्थ्यौं । खसी बेस्सरी कराउँथ्यो ।’

त्यो बेला पैसा मनिटाइज नभएको बेला थियो । र, पनि सबै चिज पाईन्थ्यो । पैसा हुदैनथ्यो । अन्न, खेतीपाती, पशुपन्छी पालना गरिन्थ्यो । त्यो समय देशको समग्र इकोनोमी सिष्टममा पैसाको चहल पहल हुँदैन थियो, आर्थिक गतिविधि भने हुन्थ्यो । आफ्नै घरमा सबै कुरा हुने भएपछि पैसाको खाँचो पनि पर्ने थिएन ।

पाँच पैसामा नेबिको चकलेट दुईटा पाइन्थ्यो । हामी केटाकेटी हुँदा कुनै इन्टरेनेट वा टेलिभिजनहरु थिएनन् । त्यो समयमा रमाइलो गर्न कि त सिनेमा हेर्न हलसम्म जानुपर्दथ्यो, कि त चाडपर्वको आगमन नै हुनुपर्दथ्यो ।

दशैंमा अर्को कुरा सामाजिक वातावरण नै दशैंमय अर्थात् हर्षोल्लासपूर्ण हुन्थ्यो । मानिसहरुको चहलपहल, घर नजिकै पिङ मच्चाउने, परालको उनीउमा उफ्रिने, साथीहरुसँग चङ्गा उडाउने, परिवारसँग रमाउने र पारिवारिक भेटघाटले उ बेलाको दशैं नै फरक हुन्थ्यो । अहिलेको दशैं निकै साँघुरिँदै गएको जस्तो लाग्छ ।

दक्षिणा खाममा पाउने भएकाले जति धेरै खाम उतिबढी खुसी हुने अनुभव सुनाउँछन्, अध्यक्ष सिलवाल । अहिले पनि दशैंमा आशिष भन्दा पनि दक्षिणासँग जोडेर हामी हेर्ने गर्छौँ । अहिले पनि कता बढी दक्षिणा आँउछ होला भनेर हामी विचार्छौँ ।

लामो समय नभेटिएका आफन्तसँग भेटघाट हुने, कुनै हतारोबिना परिवारसँग बस्न, खान पाइने, इष्टमित्र, साथीभाइसँग पनि रमाइलो गर्न पाइने हुँदा दशैं मेरा लागि सधैं अविस्मरणीय हुने गर्छ । हामी हरेक वर्ष आफनो दाजु भाइमध्ये एकको घरमा जम्मा भएर भव्य रुपमा दशैं मनाउने गर्दछौं । यो वर्ष कसको घरमा जम्मा हुने हो, खासै टुंगो लागेको छैन । तर, जहाँ भए पनि रमाइलो नै हुनेछ ।

हामी हाम्रो संस्कृतिको सम्बद्र्धन गर्नका निमित्त पनि खुलेर दशैं मनाउँछौं । दशैंमा नवदुर्गाको आराधना गर्छौं । ७/८ दिनदेखि शुद्ध भएर विहान पुजाआराधना गर्दछौँ । हामी आफैंमा पनि सकारात्मक उर्जा आँउछ, नवरात्रले । त्यतिबेला दशैंमा नयाँ लुगा लगाउने र सहयोगीलाई पनि लुगा किनिदिने चलन थियो । सिलवाल मुस्कुराउँदै भन्छन्, ‘सिलवालको घरमा पनि खसी काटिन्थ्यो तर अचेल त्यसो हुन छाडेको छ । घरमा खसीको मासु खाने दक्षिणाको छुट्टै मज्जा !’

यो वर्ष दशैंकै मुखमा देशमा बाढीपहिरोले विध्वंश गरेपछि बीमा क्षेत्रको नियामक निकायको कार्यकारी अध्यक्ष सिलवाल दावी भुक्तानी सहज बनाउन सक्रिय भएर लागि परेका छन् ।

‘विपदको अवस्थामा हामीले बीमा कम्पनीहरुलाई सहज र छिटो छरितो दाबी भुक्तानी र डकुमेन्टेशनमा सहजीकरण गरिदिएका छौं,’ अध्यक्ष सिलवालले भने, ‘विपद्मा परेका बीमितहरुलाई यथाशीघ्र भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेका छौं । बीमा प्राधिकरणले रेगुलेटरको माध्यमबाट हाम्रो कतव्र्य निर्वाह गरिरहेका छौँ ।’ बाढीपहिरो पीडित कसैले कुनै पनि कम्पनीबाट दावी भुक्तानीमा ढिलाई भएमा बीमा प्राधिकरणको गुनासो दर्ता गराउन सक्ने प्राधिकरणले जनाएको छ ।

बीमाकर्मी एवं बीमा अभिकर्ता, बीमा क्षेत्रका कर्मचारी तथा लगानीकर्तासहित बीमितहरुलाई शुभकामना ज्ञापन गर्दै अध्यक्ष सिलवालले भनेका छन्, ‘वर्षदिनमा आउने राष्ट्रिय चाडपर्व दशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा समस्त बीमाकर्मी र बीमितहरुलाई भव्यताका साथ मनाउन आह्वान गर्दछु ।’

हेरौँ,अध्यक्ष सिलवालको भिडियो सन्देशः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*