मेरो दशैं जहिल्यै उपत्यका बाहिरः अध्यक्ष क्षेत्री (भिडियोसहित)

२४ आश्विन २०८१, बिहीबार १६:५७

काठमाडौं । दशैं मान्ने सबैका आफ्नै योजना छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सधैँ झै उपत्यका बाहिरै दशैँ मनाउँदै छन् । यो वर्ष पनि परिवारको साथमा दशैं मनाउन तँनहु जान लागेको अध्यक्ष क्षेत्रीले सुनाए । वर्षदिनमा आउने चाडपर्व मनाउन मात्रै नभई परिवार एकै साथमा हुँदा सँधै खुसी हुन्छु, उनी भन्छन्, ‘गाँउघरमा प्रकृतिको छुटै आभास हुने भएको कारण मलाई यहाँसम्म आउन चाडपर्व नै, चाहिँदैन । बेला मौकामा केही समय निस्कनासाथ म घर पुगिहाल्छु ।’

प्रायः आफुले दशैँ गाउँमै गएर मनाउने गरेको उनी बताउँछन् । उनले भने, ‘यो पल्ट बाटोघाटोको अवस्था ठिक नभए पनि दशैँ मान्न गाउँ नै जान्छु । दशैँको रमाइलो भनेको गाउँमै राम्रो । त्यसकारण मैले गाउँमा गएर दशैं मनाउने तयारीमा छुँ ।’

लगभग तीन वर्षको दशैँ मात्र मैले काठमाडौंमा मनाएको छु, उनी भन्छन्, ‘बाँकी त सब गाउँमै हो । दशैंमा गाँउमा बेग्लै नै रमाइलो हुन्छ । मुमा लगायत काकीको परिवार र दाजुभाइहरू पनि छन् । त्योभन्दा पनि गाउँमा जाँदा बाल्यकालका साथीहरूसँग पनि भेटघाट हुन्छ ।’

लामो समय नभेटिएका आफन्तसँग भेटघाट हुने, कुनै हतारोविना परिवारसँग बसेर खान पाइने, इष्टमित्र, साथीभाइसँग पनि रमाइलो गर्न पाइने हुँदा दशैं अविस्मरणीय हुने गर्छ । काठमाडौँवासीलाई त गाउँमा जाँदा छुट्टै रमाइलो हुन्छ नि, उनी भन्छन्, ‘ठाउँ पनि परिवर्तन हुने भएकाले विदा मनाएको जस्तो पनि हुन्छ ।’

म खाना बनाउने लगायतका धेरै कुरामा त पछाडि नै छु, उनी अगाडि भन्छन्, ‘बरु म अन्य काममा सघाइदिन्छु । तर खाना भने पकाउन सक्दिन । मैले विद्यार्थी जीवनमा हुँदा पनि खाना भने कहिल्यै पकाइन । त्यसकारण दशैँमा नि त्यस्तै हो, म त पकाएको खाने र रमाइलो गर्ने मात्रै हो ।’

गाउँतिर दशैँ मनाउन जानुको अर्को रमाइलो पक्ष भनेको त्यहाँ बच्चाहरू टिका लगाउन घर–घर जाने गर्छन् । पहिले-पहिले आफु पनि त्यसरी नै गएको उनी सुनाउँछन् । क्षेत्री अगाडि भन्छन्, ‘ अहिले त गाउँमा खासै बच्चाहरू छैनन् । गाउँमा उसै पनि एक अर्कामा धेरै सहकार्य हुने भएकाले रमाइलै हुन्छ । त्यो कुरा दशैंको बेलामा झन् बढी हुन्छ ।’

‘म भारतको विद्यालयमा पढेको मान्छे हुँ । त्यहाँ दशैँको सट्टामा दुर्गा पूजा हुन्छ । त्यसकारण बाल्यकालमा दशैँ मानेको अनुभव त्यति छैन म सँग, तर काठमाडौँ आएपछि दशैँको महत्व बुझें,’ क्षेत्रीले बीमापोष्टसँग भने ।

यस्तै, उनले बीमालाई चाडपर्वसँग मात्रै जोडेर हेर्न नहुँदै बताए । उनले भने, ‘बीमालाई चाडपर्वसँग जोडेर मात्रै हेरिनु हुँदैन । तर, बीमा गर्दा फाइदा हुने भएकाले दशैंमा थोरै खर्च कटौती गरेर भए पनि बीमा गर्न म सबैलाई आग्रह गर्दछुँ ।’

हेरौँ भिडियो सन्देशः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*