बीमा कम्पनीहरुले नाई-नास्ती नगरी खुरुक्क दाबी भुक्तानी गर्नुपर्छः अध्यक्ष

२२ आश्विन २०८१, मंगलवार २०:१५

काठमाडौं । बीमा कम्पनीहरुले प्राकृतिक विपदको समयमा नाई नास्ती नगरी खुरुक्क बीमा दाबी भुक्तानी गनुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी पाईन्छ भनेर बीमितहरुसम्क्ष प्रमाणित गर्ने बेला आएको बताएका हुन् । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा शुभकामना दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

अध्यक्ष सिलवालले भने, “बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो, कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ।”

हालैको बाढी तथा पहिरोबाट कृषिक्षेत्र बाहेक सडक र पुलमा मात्रै २७ अर्ब रूपियाँभन्दा बढी क्षति भएको उल्लेख गँदै अध्यक्ष सिलवालले भने, “सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमा मार्फत लगानीको सुरक्षण समेत गर्नु आवश्यक छ, क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ, बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ।”
अध्यक्ष सिलवालले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*