वैदेशिक रोजगारका क्रममा मर्नेका परिवारले पाउने क्षतिपूर्ति १० लाख, बीमा रकम जोड्दा २३ लाख कट्ने

२२ आश्विन २०८१, मंगलवार ०८:५०

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आश्रित परिवारलाई दिने क्षतिपूर्ति बढाएको छ । अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आश्रित परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् ।

हाल त्यस्ता मृतकका परिवारले ७ लाख रुपैयाँ पाइरहेका थिए । मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली २०६४ लाई छैटौं संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकममा ३ लाख थपेर १० लाख बनाएको हो ।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकामा त्यस वर्ष ४ लाख बढाएर ७ लाख बनाइएको थियोे । नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने बताइएको छ ।

नियमावली संशोधनसँगै बीमा र अन्य क्षतिपूर्तिसहित वैदेशिक रोजगारका क्रममा मृत्यु हुनेका परिवारले २३ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् । हाल मृतकका परिवारले बीमा कम्पनीबाट पोलिसीको शर्तअनुसार १४ लाख रुपैयाँसम्म बीमा दाबी पाउने गरेका छन् ।

क्षतिपूर्ति रकम बढाइए पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनु नपर्ने भएको छ । हाल वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिंदा कल्याणकारी कोषका लागि २ हजार ५ सयसम्म जम्मा गर्नुपर्ने प्रावधान छ । ३ वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५ सय र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेहरुले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

कोषका लागि कुनै थप स्रोत खोजी नगरी क्षतिपूर्ति रकम ७ लाखबाट १० रुपैयाँ बनाउँदा कोषको रकम भने चाँडै सकिने चिन्ता सम्बन्धित निकायलाई परेको छ । अहिले साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेका छन् ।

यस्तै, घाइते वा अंगभंग भाएका कामदारको उपचार खर्च पनि वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ । बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने प्रबन्ध मिलाएको छ । जसले विगत झैं राहत रकम हात पार्न परिवारका सदस्यबीच हुने हानाथापको अन्त्य भएको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*