काठमाडौंका तारे होटलले बेच्छन् म्याद गुज्रिएका खानेकुरा

२२ आश्विन २०८१, मंगलवार ०८:३३

काठमाडौं । काठमाडौंका तारे होटलले उपभोक्तालाई म्याद गुज्रिएका खानेकुरा खुवाउने गरेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंका तारे भनिएका होटलले म्याद गुज्रिएका खाद्यान्न प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको तथा अचाक्ली शुल्क लिने गरेका गतिविधि फेला परेका छन् ।

पाँचतारे भनिएको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा म्याद गुज्रिएका सामान फेला परेपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले होटल याक एण्ड यतीले सामानको रिलेबलिङ गरेको तथा गुणस्तर, परिमाण र मूल्य तथा नापतौलमा फेरबदल गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागले ठूला होटलको अनुगमनलाई तीब्रता दिने क्रममा यसअघि बानेश्वरको एभरेष्ट र सिंहदरबारको मूल (दक्षिण) गेट छेवैको बसेरा बुटिक होटललाई कारबाही गरेको थियो । एभरेष्टमा विभागको अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामग्री भेट्टाएको थियो भने बसेराले पानीको मूल्य अत्यधिक लिने गरेको भेटिएको थियो ।

सरकारी रेकर्ड अनुसार बानेश्वरको द एभरेष्ट होटल २०७२ सालको भूकम्प पछि बन्द रहेको होटल हो । तर, उसले भित्रभित्रै सरकारलाई थाहा नदिई होटल चलाइरहेको बुझिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत नभएका कारण उसको अहिले ‘तारे’को हैसियत पनि खोसिएको अवस्था छ । तर, एभरेष्टले ‘तारे’कै मूल्य लिएर दैनिक विभिन्न सेमिनार तथा कार्यक्रम र पाहुनाको सत्कार गरिरहेको छ । सञ्चालकहरुले आन्तरिक रुपमा सञ्चालनमै राखेर होटल बेच्न खोजिरहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*