बाढी पहिरोमा परेका सबै सम्पत्तिको बीमा रकम पाइन्छ, हामी सर्भेयरहरु तीव्र गतिका काम गर्दैछौंः मोहन पुरुष ढकाल, अध्यक्ष निसा

२१ आश्विन २०८१, सोमबार १८:५९

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण देशभर ठूलो मात्रामा धनजनको क्षतीको भएको छ । देशले यो बर्ष ठूलो क्षति व्योहेर्नु परेको छ । ठूलो क्षतिसँगै बीमा कम्पनीहरुमा दावी पर्ने क्रम पनि बढिरहेको छ ।

सरकारले यो विपदको घडीमा बीमा कम्पनीहरुलाई यथाशिघ्र दाबी भुक्तानी दिन निर्देशन समेत दिईसकेको छ । सो कारण बीमा कम्पनीहरुले सर्भेयरहरुलाई सर्भे रिर्पोट छिटो कम्पनीमा पेश गर्न आवश्यक डकुमेन्टमा पनि सहजीकरण गरिदिएको छ ।

यस विपदको घडीमा निर्जिवन बीमा कम्पनीमा आवद्ध भएका सर्भेयहरु निरन्तर फिल्डमा उत्रिएर जोखिमको प्रवाह नगरी काम गरिरहेको छन् । बाढी पहिरोले क्षती पुर्राएको स्थानमा क्षतिको मूल्यांकन गर्ने, सम्पत्ति दायित्व हेर्ने र रिर्पोट लिने काममा व्यक्त छन् ।

यस विपदको समयमा सर्भेयरहरुले कसरी काम गरिरहेका छन् त ? सरकार, बीमा प्राधिकरण, बीमित र बीमा कम्पनीसँग कस्तो अपेक्षा गरिरहेका छन् ? सर्भेयरले यस समयमा गरिएको काम कारवाही र व्यस्तता र यसै सेरोफेरोमा बीमापोष्टकी रिना खत्रीले बीमा सर्भेयर संघ नेपाल (निसा) का अध्यक्ष मोहन पुरुष ढकालसँग गरिएको कुराकानीको सारः

– अविरल वर्षाका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा तपाईको धारणा के छ ?

शाखाले पहिल्यै सचेत गराएको अविरल बर्षाबाट भएको क्षति हो । कतिपय व्यक्तिहरूले यस्तो क्षतिको आँकलन गरेर पहिल्यै बीमा गराइसक्नु भयो भने कतिपयले बीमा गराउनुभएको छैन् । क्षति हुनु भइसक्यो तर जसले बीमा गराउनुभएको छ उहाँहरूको क्षति हदैसम्म रिकभर हुने नै भइहाल्यो र जसले बीमा गराउनुभएको छैन् उहाँहरूलाई त सहानुभूति दिने बाहेक अरू बिकल्प हामीसँग छैन् । बीमा गराउँदा बीमितहरूले आफ्नो सम्पत्तिको लेखाजोखा र मूल्याङ्कन गरेर सोही अनुसारको प्रिमियम तिरेर बीमा गर्न गराउन आग्रह गर्छु । यसरी बीमा गर्दा आफ्नो क्षति भएको सम्पत्ति बापतको हदैसम्म रिकभर हुन्छ । बीमा दाबी भनेको राहत हैन अधिकार हो । यो कुरालाई राम्रोसँग बुझेर बीमा गर्न र गराउन अभिकर्ता र आम बीमितलाई आग्रह गर्छु ।

दैवी प्रकोपले ठूलो क्षति पुर्याउने गरेको छ, तपाई सर्भेयर संघको अध्यक्ष भएको हैसियतले तपाईलाई कम्पनी र सरोकारवाला निकायले कत्तिको सहजीकरण गरिदिएको छ ?

–दैवी प्रकोपले क्षति पुर्याइसकेपछि बीमा प्राधिकरणले सहजीकरण गरेको प्रष्ट देख्न सकिन्छ । क्षति भएको जानकारी पाइसकेपछि प्राधिकरणले सर्कुलर समेत गरेको छ । प्राधिकरणले बीमक संघ र बीमक कम्पनीहरूलाई सर्कुलर गर्दै क्षतिबाट प्रभावितलाई छिटोभन्दा छिटो दाबी भुक्तानी गरी स्टेटमेन्ट पेश गर्न आग्रह गरेको छ । त्यस्तै दाबी भुक्तानी गर्न अत्यावश्यक कागजपत्र मात्र उपलब्ध गराएर भएपनि दाबी भुक्तानी गर्न भनेको छ । अझै सहजीकरण गर्दै प्राधिकरणले सर्भेयरले गरेको विवरण अनुसार कम्तीमा ३० प्रतिशत रकम तत्काल दाबी भुक्तानी गर्नू र बाँकी कागजपत्र उपलब्ध हुनासाथ भुक्तानी गर्न आग्रह गरेको छ ।

बाढी पहिरोका कारण सर्भेयरहरूलाई पनि फिल्डमा जान सहज छैन र असहज परिस्थितिका वाबजूद पनि सर्भेयरहरू कसरी फिल्डमा खटिइरहनु भएको छ ?

–अहिले बीमा प्राधिकरणले नवीकरण गरेको १२ सयभन्दा बढी सर्भेयर साथीहरू हुनुहुन्छ । कुनै विशेष कारणबस दुई सय जना सर्भेयर साथीहरूलाई फिल्डमा खटिन असमर्थ भएका रहेछन् भनेपनि एक हजार जना सर्भेयर साथीहरू पक्कै खटिइरहेका छन् । जुन ठाउँमा बीमितको सम्पत्ति छ त्यहाँ त सर्भेयरलाई पुग्नै पर्छ । कुनै ठाउँमा दलदल र पहिरो भएको ठाउँमा सर्भेयर पुग्न नसकेका पनि छन् । विशेषगरी हाइड्रोपावर कम्पनीहरू । र केही कम्पनीहरू आफैँले सर्भेयरलाई सम्पर्क गरेर क्षतिग्रस्त सम्पत्तिसम्म अहिले जान सम्भव छैन परिस्थिति सहज हुनेबित्तिकै तपाईहरूलाई खबर गर्छौं भनेका पनि छन् । कम्पनीलाई पनि सोही अनुसार ब्रिफिङ हुने गरेको छ ।

घट्नास्थलमा तत्काल सर्भेयर नपुग्दा क्षतिको विवरण तलमाथि हुन सक्ने आँकलन पनि गर्न सकिन्छ, यसलाई कसरी लिनुभएको छ?

–सर्भेयर तत्काल घटनास्थलमा नपुग्दा क्षति विवरणमा केही थपघट हुन सक्ला । तर सर्भेयरको आ–आफ्नै तरिका हुन्छन् । क्षति भएका कम्पनीका सम्पूर्ण कागजात, अडिट रिपोर्ट, बैंक स्टेटमेन्ट, खरीदबिक्री बिल लगायतका सम्पूर्ण कागजात हेर्दा क्षति विवरण तलमाथि भएको रहेछ भने सर्भेयरले पत्ता लगाउँछ । तलमाथि भइहालेको खण्डमा पनि थोरै हदसम्म हुन सक्ला । एकपटक बल्खुमा बाढी आउँदा एकजना बीमितको क्षति दाबी नपुग्ने गरी केही क्षति भएको रहेछ पछि उहाँले कामदारहरू लगाएर बोराका बोरा धान चामल आदी अन्यत्र लुकाई अत्यधिक क्षति भएको दाबी गर्दै भुक्तानीका लागि आउनु भएको रहेछ । यस्ता घट्नाहरू समयसमयमा घट्ने गरेका छन् । अहिले यदी यस्तो कार्य गर्नुहुन्छ भने त्यो क्षमायोग्य छैन नियमानुसार कारवाही हुन्छ ।

२०७२ सालको भूकम्पमा ठूलो क्षति भयो, अहिले फेरि बाढी पहिरोले ठूलो क्षति आएको छ । यस पटक त सर्भेयरहरु मानसिक रुपमा तयार नै थिए भन्न सकिन्छ ?

–२०७२ सालमा भूकम्प आउँदा आइपरेको चुनौतीबाट सिकेका सर्भेयरले अहिले अहिले अविरल वर्षाले भएको क्षतिलाई अवसरको रूपमा लिई खटिइरहनु भएको छ । भूकम्प गएपछि हामीलाई कामको अत्यधिक प्रेसर थियो । जुन ठाउँमा प्रहरी, दमकल, एम्बुलेन्स लगायतहरू जाँदैन थिए त्यहाँ पनि हामी पुगेर भूकम्पमा हल्लिदै जोखिम मोलेरै भएपनि सेवा दिएका थियौं ।

भूकम्पबारे सरकारले कुनै सूचना दिन सक्दैन तर अहिलेको बाढी पहिरोको पूर्व सङ्केत केन्द्र सरकारले दिएको थियो । केन्द्र सरकार र स्थानीय तहबीच राम्रो समन्वय नहुँदा पुर्व अनुमान हुँदा पनि क्षति रोक्न सकिएन । यदी समन्वय राम्रो भएर स्थानीय सरकारले पनि यो विषयलाई गम्भीर रूपमा लिएको हुन्थ्यो भने धरै हदसम्म क्षति कम हुन्थियो ।

अहिलेको क्षतिमा प्राधिकरणले सर्कुलर जारी गरेर धेरै नै सहजीकरण गरेको छ । यहीबाट म के भन्न चाहन्छु भने सबैले आ–आफ्नो ठाउँबाट राम्रोसँग काम गरेर हामीलाई अझै सहज गरिदिनुहोस्, क्षति भएको चिजलाई देखाएर र सम्पूर्ण कागजपत्र दिएर सहयोग गरिदिनुहोस् ।

कोरोना बीमाको भार निर्जीवन बीमा कम्पनीहरुले दायित्व तिर्नै नसकेर सरकारको मुख ताकिरहेका छन । अहिले मोटर बीमाको दावी धेरै परेको भन्ने सुनिन्छ नि ?

–अहिलेसम्म देखा परेको मोटर बीमाको क्षतिलाई बीमा कम्पनीले थेग्न सक्छ । १४ वटा निर्जीवन बीमा कम्पनी छन् माइक्रो इन्स्योरेन्स कम्पनीहरू पनि छन् यी सबैको पुनर्बीमा पनि छ । पुनर्बीमा भएकाले ठूलो क्षति भएको भए तापनि थेग्न सकिन्छ ।

मोटर क्षति भएका बीमितले कम्पनीमा खबर गर्नुस्, कम्पनीले सर्भेयर पठाउँछ र क्षतिको लेखाजोखा गरेर पोलिसी अनुसारको दाबी दिन्छ । ढुक्क हुनुहोस् बाह्य कारणबाट भएका क्षतिमा बीमा कम्पनीले दाबी दिन्छ ।

कोरोनाको समयमा नयाँ प्रडक्ट निकालेर बीमा गरिएको हो । बीमक संघ, बीमा प्राधिकरण र नेपाल सरकारले कारोना लागिहालेमा राहतस्वरूप एक लाख दिने निर्णय गरेको हो । यसले उपचार गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले बीमा गरिएको हो यो राम्रो कुरा पनि हो । यो कुरा सिद्धान्तमा पर्ला नपर्ला तर मानबीय संवेदनशीलताको हिसाबले यो कुरा महत्वपूर्ण पनि थियो । अब रह्यो भुक्तानीको कुरा त यसमा के भन्न चाहन्छु भने कतिपय कुराहरूमा हामीले पनि गर्न नहुने र माग्न नहुने काम गरिएको देखिएको छ । अनि कसैले सामान्य अवस्थामै पनि भुक्तानी लिने र कसैको गम्भीर अवस्थामा पुगेर उपचार गर्न नसक्दा पनि भुक्तानी पाउन नसक्ने समस्या पनि देखियो । तर नेपाल सरकारले दिने भनेको कुरा हो निर्णय पनि गरेको कुरा हो, यसलाई लिएर नेपाल बीमक संघले सरकारविरुद्ध सर्वाेच्चमा मुद्दा समेत दायर गरिसकेको छ । ढिलै भएपनि यसको छिनोफानो हुन्छ ।

विपदको समयमा सरकारले के–कस्ता कदम चालेर सर्भेयरलाई सहज गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

–घटनास्थलमा जान पर्ने भएपछि कम्पनीले घटनास्थलसम्म जाने खर्च दिन्छ तर टिकट नपाउने सम्भावना बढी रहन्छ । विपदको समयमा यदी सरकारले सर्भेयरका लागि भनेर एक दुई वटा भएपनि विशेष टिकट सुविधा प्रदान गर्छ भने समयमै घटनास्थलमा पुगि बीमितलाई चाँढै दाबी भुक्तानी गर्ने वातावरण बन्न सक्छ । अधिकांश सर्भेयरले आफ्नै सवारी साधन प्रयोग गर्छन् प्रेट्रोल, डिजल आदिको अभाव हुँदा सर्भेयरलाई समयमै पुग्न गाह्रो पर्छ, यस्तो अवस्थामा पनि सरकारले केही विशेष व्यवस्था गरिदिएमा बीमा दाबी प्रक्रिया छिटो छरितो हुन्छ ।

आम बीमितमा कम्पनीबाट खटिने सर्भेयरहरू बीमितको भन्दा बढी कम्पनीको पक्षबाट काम गर्छन् भन्ने पनि छ नि, यसबारे के भन्नुहुन्छ?

–सर्भेयर भनेको निरीक्षक हो । निरीक्षण त जसले पनि गर्न पाउने भयो । यदी सर्भेयरले गरेको निरीक्षण मन नपरेमा बीमा प्राधिकरण जाने, सर्वाेच्च जाने जस्ता बाटोहरू छँदै छन् । म आम बीमितलाई के भन्न चाहन्छु भने क्षति हुनासाथ कम्पनीमा सम्पर्क गर्नुस् कम्पनीले सर्भेयर पठाएर सोको जानकारी तपाईलाई दिन्छ । सर्भेयर आइसकेपछि उसको अनुमतिपत्र आदि हेर्नुहोस् । तपाईको क्षति भएको सम्पत्तिको लेखाजोखा गर्ने सर्भेयर तपाईप्रति जवाफदेही हुनुपर्छ । तपाईहरूले यो कुरालाई राम्रोसँग ध्यान दिनुहोस् ।

सर्भेयरले १५ दिनभित्र क्षतिको लेखाजोखा गर्छ र सोको ३५–४० दिनभित्र कम्पनीले दाबी भुक्तानी दिनुपर्छ । यदी यसरी दाबी पाइएन भने तपाई बीमा प्राधिकरण जानुहोस् । यस विषयमा म प्राधिकरणलाई के भन्न चाहन्छु भने सर्भेयरको काम गर्ने एउटा सीमा हुन्छ, कम्पनीले दाबी गर्ने एउटा सीमा हुन्छ तर बीमा प्राधिकरणमा कुनै समयसीमा छैन । आम बीमितलाई सेवा दिन आफूलाई पनि एउटा समय परिधिमा बाँध्नुहोस् ताकि जनता बीमा प्रति आश्वस्त रहुन् ।

बीमा गरेको सम्पत्तिको जोखिम बहन हुँदैन कि भनेर आत्तिएका बीमितलाई तपाई सर्भेयर संघको अध्यक्ष भएको हैसियतले के भन्न चाहनुहुन्छ?

– बीमा गर्नुस् कुनै आपत्ति छैन् । बीमा भनेको तपाईको सम्पत्तिको क्षतिको जोखिम बहन गर्नु हो । बीमा गराएर तपाई निश्चिन्त भएर बस्नुहोस् । बीमाका सातवटा सिद्धान्त छन् । सर्भेयरलाई र बीमा कम्पनीलाई आवश्यक पर्ने कागजात र विवरण दिएर कुनै चिन्ता नलिई दिनमा शान्त भएर बस्नुस् र रातमा ढुक्क भएर सुत्नुहोस् यसलाई पिस अफ माइन्ड भनिन्छ । यो बीमाको सिद्धान्तमा पर्छ । तपाईले बीमा कम्पनीमा कुनै शङ्का गर्नु पर्दैन किनकी तपाईको बीमा सुरक्षा गर्ने धेरै पाटाहरू छन् । अझ शिक्षा मन्त्रालयसँग मेरो अनुरोध के छ भने बीमा सम्बन्धी पाठ सानै कक्षामा पाठ्यक्रममा राखिदिनुहोस् । किनभने उहाँहरू नै पछिका अभिकर्ता, बीमक, बीमित, सर्भेयर र नियमनकारी निकायमा रहने व्यक्तिहरू हुन् । तसर्थ सानैदेखि आम मानिसमा बीमा बारे सचेत गराउन सकिएमा यसले सबैलाई फाइदा हुन्छ । –धन्यवाद ।

भिडियो संवाद सहित

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*