घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा?

२० आश्विन २०८१, आईतवार १६:०९

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घट्न थालेको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको देखिन्छ ।

अहिले बैंकहरूको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै कम भएको छ । महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बैंकहरूको आधारदर (बेसरेट) निकै सस्तिएको हो ।

वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ७.६८ प्रतिशतमा झरेको छ । यो पछिल्लो ३४ महिना यताकै सस्तो हो । चालु आवको भदौको तुलनामा असोजमा बैंकहरूको बेसरेट औसतमा ०.२५ प्रतिशत बिन्दुले घटेको हो । भदौमा बैंकहरूको औसत बेसरेट ७.९२ प्रतिशत रहेकोमा असोजमा ७.६८ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो ।सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ७.६८ प्रतिशतमा झरेको हो ।

पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो । हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकको बेसरेट मात्रै ८ प्रतिशतमाथि छ । १५ वाणिज्य बैंकको बेसरेट ८ प्रतिशत कम छ । जसमा ९ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ । दुई बैंकको बेसरेट ७ प्रतिशतभन्दा पनि कम छ ।

२० बैंकमध्ये १५ वटाले चाहेमा ९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् । बेसरेट ८ प्रतिशतभन्दा तल रहेका बैंकले चाहेमा न्यूनतम १ प्रतिशत मात्रै प्रिमियम जोडेर ९ प्रतिशत ब्याजदरमै ऋण दिन सक्ने भएका हुन् ।
बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् । र, अहिले केही बैंकले ०.२५ प्रतिशत प्रिमियममा मात्रै पनि ऋण दिन थालेका छन् ।

बैंकहरूले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले आधारदर (बेसरेट) एकल अंकमा झरेको हो । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

कुन बैंकबाट पाइन्छ सस्तोमा कर्जा ?

वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ६.०३ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो ।

चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ७ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् ११ प्रतिशतमै ऋण दिन सक्छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यको पनि बेसरेट ७ प्रतिशत कम अर्थात् ६.३७ प्रतिशत मात्र छ । यसले पनि चाहेमा १ प्रतिशत प्रिमियम जोडेर साढे ७ प्रतिशतभन्दा कममै ऋण दिन सक्छ ।

त्यस्तै, एभरेष्ट, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, कृषि विकास, सानिमा, एनएमबी, सिद्धार्थ, प्रभु, माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल एसबीआइ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम छ । यी बैंकले न्यूनतम ९ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा दिन सक्छन् ।

सिटिजन्स, प्राइम कमर्शियल, हिमालयन, कुमारी र एनआइसी एशियाको बेसरेट ८ देखि ९ प्रतिशतको बीचमा छ । जसमा एनआइसी एशियाको सबैभन्दा महँगो ८.८८ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*