बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान

२० आश्विन २०८१, आईतवार १०:४९

काठमाडौं । नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

केही दिन पहिले मात्रै आधिकारिक रुपमा फाउण्डेशनको स्थापनाको औपचारिक घोषणा गरिएको थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार फाउण्डेशनको औपचारिक घोषणापश्चात यो नै पहिलो योगदान हो । साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धता अनुरुप बाढीपहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषलाई रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोपजन्य विपदको राहत जस्ता पहललाई मध्यनजर गर्दै फाउण्डेशन स्थापना गरिएको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले विपदको घडीमा पीडितहरुको सहयोगार्थ सहयोगी हात अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

बीवाईडी च्यारिटी फाउण्डेशनले नागरिकको सामाजिक सुरक्षा एवं दिगो विकास लक्ष्यमा योगदान गर्ने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई केन्द्रमा राखेर आगामी दिनमा पनि आपतकालीन सहयोगको प्रतिवद्धता गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*