बाढीपहिरोबाट कृषि क्षेत्रमा ६ अर्बको क्षति, बीमा नगर्दा राहत पाउने अवस्था छैन

१८ आश्विन २०८१, शुक्रबार १४:०३

काठमाडौँ । गत साता बिहीबार रातिदेखिको अविरल वर्षा, बाढीपहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा पौने ६ अर्बको क्षति पुगेको छ ।  सरोकारवालाहरुले आम नागरिकबीच बीमा सम्बन्धि जनचेतना फैलाउन तथा किसानहरुले कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकता दिने नगरेका कारण अर्बौको क्षति व्यहोर्नु परेको हो ।

किसानहरुले कृषि अन्तर्गतका विभिन्न बालीहरुको बीमा गर्ने प्रचलन नरहेका कारण क्षति हुदाँ विभिन्न खाले राहतबाट समेत बन्चित बनेका छन् । सरकारले नागरिकहरुका लागि स्वास्थ्य तथा सवारीसाधनको बीमामा जुन कडा नीति ल्याएको छ । त्यस प्रकारका नीति कृषि तथा पशुपन्छी बीमामा ल्याउन नसक्दा समेत किसानहरुले विभिन्न समयका बाढीपहिरो लगायतबाट क्षति व्यहोर्नु परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार बाढीपहिरो र डुबानले धानवाली, तरकारी, अलैँची, उखु, माछापोखरी, पशुपन्छी, कोल्डस्टोर, पशुगोठलगायतमा ५ अर्ब ८३ करोडको क्षति भएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमामा लापरबाही गर्दा किसानहरुले ६ अर्ब रुपैयाँको क्षति भोगेका छन् ।

मन्त्रालयको विवरण अनुसार धानबालीमा मात्रै ३ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ । बाढीपहिरोले ५८ हजार ४ सय ७६ हेक्टर धानबालीमा क्षति पुयाएको हो । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलालीको धानबालीमा असर पुगेको छ । त्यस्तै, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा क्षति पुयाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा ४ सय ५८ हेक्टरमा माछापोखरीमा क्षति पुगेको छ । यसबाट किसानलाई १ अर्ब १३ करोड नोक्सान भएको छ । त्यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशुगोठमा क्षति पुगेको जनाएको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा २२ हेक्टर फलफूलको बगैंचामा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा र पर्सामा २७४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । २ वटा कोल्डस्टोरमा क्षति पुगेको जनाएको छ । यीबाहेक मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनामा १६ करोड बराबरको क्षति पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*