लाभांश प्रस्तावसहित मारुती सिमेन्ट्सको साधारण सभा आह्वान, यी हुन् मुख्य प्रस्ताव
काठमाण्डौ । लाभांश वितरण गर्ने प्रस्तावसहित मारुती सिमेन्ट्सले ३०औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालय बोलाएको हो । सभा बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, आव २०८०/८१ मा कम्पनीको सञ्चालक समतिबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान रकमहरु अनुमोदन गरेको एक लाख भन्दा माथिका रकमहरु अनुमोदन गर्ने, विभिन्न बैंकहरुबाट लिइएको ऋणको अनुमोदन तथा स्वीकृती गर्ने र सञ्चालक समितिबाट आव २०८०/८१ मा भए गरेका निर्णयहरु पारित गरिनेछ ।
यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।