दशैं अगाडि खुल्दैन वीपी राजमार्ग
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयले दशैं अगाडि वीपी राजमार्ग पुनः सञ्चालन गर्न नसकिने स्पष्ट गरेको छ। रोशी खोलाको बाढीले सडकको अधिकांश भागमा क्षति पुर्याएको हुँदा दशैंअघि राजमार्गलाई खुलाउन सम्भव नहुने मन्त्रालयले जनाएको हो।
गत बिहीबारदेखि परेको अविरल वर्षाले भकुण्डे–नेपालथोक सडकको १२ किलोमिटर खण्डमा बाढीले सडक बगाएको थियो। मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको निरीक्षणमा गएको थियो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने स्थिति नरहेको बताए।
सचिव शर्माका अनुसार, वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्रै १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ। कुल १८ किलोमिटर लम्बाइको यस खण्डमा पहाड काटेर वैकल्पिक सडक बनाउन कठिन परिस्थिति रहेको छ। उनले भने, “अहिलेको अवस्थामा अस्थायी रूपमा सडक सञ्चालनका लागि डाइभर्सन तयार गर्न प्रयास हुनेछ, तर सार्वजनिक यातायात सुचारु हुने अवस्था तत्काल देखिँदैन।”