भारतले १५ अर्ब लागतमा पेट्रोलियम पाइपलाइन बनाइदिने, एनओसी र आइओसीबीच सम्झौता
काठमाडौं । भारत सरकारले भारतको सिलिगुडीदेखि नेपालको झापा चारआली र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निमार्ण गरिदिने भएको छ । करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सम्झौता भएको छ ।
एनओसीका प्रबन्ध निर्देशक चण्डिका भट्ट र आइओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताका अवसरमा भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सचिव पंकज जैन र आईओसीका अध्यक्ष भी सतिषकुमार पनि उपस्थित थिए।
यस सम्झौताले दुई देशका बीचको सहकार्यलाई थप मजबुत बनाउनेछ। नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका बीचका निम्नलिखित परियोजनाहरूको कार्यान्वयनमा सहमति भएको छ:
- पेट्रोलियम पाइपलाइन निर्माण: भारतको सिलिगुडीदेखि नेपालको झापामा स्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको Smart ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ।
- अमलेखगंज-लोथर पाइपलाइन: नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुनेछ।
- लोथर टर्मिनल: चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको Smart ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ।
Good news