दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएपछि …………
काठमाडौँ । नेपालमा कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त रहेको भाषणा घन्काउँदै हिड्ने सामाजिक अभियान्ता तथा ब्यवसायी दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएको खुलासा भएको छ । भ्रष्टाचारविरुद्धको कडा आवाज उठाउँदै आएका प्रसाईंको नेतृत्वमा रहेको नागरिक बचाउ महाअभियान नेपालमा अनियमितताको गम्भीर आरोप लागेको हो ।
जनकपुर अञ्चलका अभियान संयोजक राजिव झाले अभियानको लेटर प्याडको दुरुपयोग गर्दै सर्वसाधारणबाट पैसा उठाएर अनुचित लाभ लिएको खुलासा भएपछि उनलाई निलम्बन गरिएको हो । प्रसाईंले आफूलाई नै अटुट रूपमा साथ दिएका अभियान्ता झाले गरिब र सर्वहारा वर्गका मानिसहरूबाट रकम असुली गर्दै उनीहरूको घरबास उठाएर उनीहरूलाई सडकमा बस्न बाध्य बनाएको जानकारी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। उनले झाको सिंगो परिवार मिटर ब्याजजस्तो अवैध काममा संलग्न भएको र पीडितहरूको शोषण गरी उनीहरूलाई थप पीडित बनाएको बताए ।
प्रसाईंले भनेका छन्, ‘झालाई पटक पटक मर्यादित भएर काम गर्न निर्देशन दिए पनि उनले मेरो निर्देशन नमानेर शोषियल मिडियामा अभियानको गलत प्रचारप्रसार गरेका छन्। यसले अभियानको उद्देश्यलाई नै हानि पु¥याएको छ। त्यसैले, झालाई अभियानको साधारण सदस्यसमेत नरहने गरी तुरुन्तै निलम्बन गरिएको प्रसाईंले जानकारी दिए।’
प्रसाईंले अभियानलाई स्वच्छ राख्नका लागि तत्काल कदम चालेका छन् र अभियन्ताहरूलाई कडा निर्देशन दिएका छन्। तर, यो घटनाले सामाजिक अभियन्ताहरूको इमानदारी र पारदर्शितामाथि गहिरो विचार गर्न बाध्य बनाएको छ। अभियन्ताहरूले गरिब, सर्वहारा र भुईंमान्छेहरूलाई सहयोग गर्नको सट्टा उनीहरूलाई शोषण गरेको प्रमाणले अभियानप्रतिको विश्वास घट्न सक्नेदेखिएको छ ।