राजमार्गका होटलमा रात्रिकालीन छड्केः झिँगा भन्किएको खाना देखेपछि २० हजार जरिवाना

१७ आश्विन २०८१, बिहीबार १०:४७

काठमाडौँ । पृथ्वी राजमार्गमा चाडपर्वको सिजनसँगै सवारी साधनको चाप बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्ने व्यवसायीहरूलाई कारबाही गरिएको छ।

बुधबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ। अनुगमन टोलीले खानाका सामग्री खुला छाड्दा झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐनको उपदफा ३९ को १ को ‘क’ बमोजिम कारबाही गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको टोलीले यो जरिवाना लगाएको हो र आगामी दिनमा पनि यस्तै गल्ती दोहोरिएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरी लगायतका सदस्यहरू सम्मिलित टोलीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका स्थित आदमघाट, मलेखु, र अन्य क्षेत्रका होटल, रिसोर्ट, र खाद्यान्न पसलहरूको पनि निरीक्षण गरेको थियो।

चाडपर्वको अवसरमा, विशेषगरी पृथ्वी राजमार्गमा रहेका होटल र रेष्टुरेन्टहरूले खाजा तथा खानाका मूल्य बढी लिने गरेको यात्रुहरूको गुनासो रहेको छ। यस समस्यालाई न्यूनीकरण गर्न प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने योजना बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*