बाढी पहिरोमा परी हालसम्म २३३ जनाको ज्यान गयो, १६५ जना घाइते
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु र २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सोही घटनामा परि एक सय ६५ जना घाइते भएका छन् ।
हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
देशभरमा विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेकोले हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।