वाग्मती र कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, सावधानी अपनाउन आग्रह

१६ आश्विन २०८१, बुधबार १७:१०

काठमाडौँ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कताका लागि सबैलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार असोज १६ गतेदेखि १८ गतेसम्म वाग्मती र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी असोज १६ को दिउँसोदेखि सुरु भएर असोज १८ गतेसम्म वर्षा रहने चेतावनी दिइएको छ। यसै क्रममा कोशी प्रदेशमा विशेषगरी रातिको समयमा वर्षा अझै बढी हुने अनुमान गरिएको छ।

गृह मन्त्रालयले असोज १० देखि लगातार भइरहेको भारी वर्षाले पहाडका धेरै स्थानको जमिन गलिसकेको भन्दै थप सानो वर्षा भएमा ठूलो पहिरो जान सक्ने जोखिम रहेको औँल्याएको छ। साथै, कुनै पनि खोलामा अचानक बाढी आउन सक्ने सम्भावना उच्च रहेको हुँदा नदी किनारका वासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको छ।

जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरू, यातायात व्यवसायी, ट्राफिक प्रहरी, यात्रुहरू तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, भारी वर्षाको बेला सुरक्षित स्थानमा सवारी रोकेर मात्र यात्रा गर्न तथा पहिरोको सम्भावित स्थानहरूबाट सुरक्षित स्थानमा जानको लागि आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*