शेख हसिनाको सरकार ढलेपछि हजारौँ बंगलादेशी नेपाल छिरे, ठमेलमा मात्रै ३ हजार
काठमाडौं । शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीको शरण लिने ठाउँ नेपाल भएको छ । विद्यार्थी आन्दोलनको आवरणमा हसिनालाई अपदस्त गरेपछि भारतले बंगलादेशी नागरिकलाई प्रवेश गर्न दिएको छैन । भारतले प्रवेशमा कडाई गरेपछि बंगलादेशी नागरिकहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै सजिलै नेपाल छिरिरहेका छन् ।
काठमाडौंको ठमेल क्षेत्रमा मात्रै ३ हजार भन्दा बढीको संख्यामा बंगलादेशी नागरिकहरु घर, फ्ल्याट भाडामा लिएर बसेको तथ्य उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पत्ता लगाएको छ । मंगलबार मात्रै नेपाललाई ट्रान्जिट बनाएर क्रोएसिया, पोल्याण्ड, रोमानियाजस्ता मुलुक जानलाई गैरकानूनी रुपमा लुकेर बसेका १५ जना पुरुष पक्राउ परेका छन् ।
उनीहरु भिजिट भिसामा नेपाल आएर अवधि सकिसक्दा पनि लुकेर बसेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी काजीकुमार आचार्यका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर क्रोएसिया, पोल्याण्डलगायतका मुलुक जान पहिल्यैदेखि उनीहरु नेपाल आउने गरेका थिए । शेख हसिनाको सरकार ढलेपछि त्यो संख्या उल्लेख्यमात्रामा बढेको प्रवक्ता आचार्यले बीमापोष्टलाई बताए । उनले भने, ‘विदेश जाने बहानामा उनीहरु नेपाल आए पनि गतिविधिहरु शंकास्पद देखिएको छ । हामी अनुसन्धान कै क्रममा छौँ । सिंगै घर भाडामा लिएर बसेका उनीहरुको गतिविधिबारे निगरानी बढाएका र्छौँ ।’
भिजिट भिसाको अवधि १५० दिन नाघेकाहरुलाई सिधै डिपोर्ट गर्ने गरिएको छ भने त्यो भन्दा कम दिन भएकाहरुलाई चालचलन र गतिविधि हेरेर केही दिन एक्स्टेन्सनको अवसर दिने गरिएको छ । तर, त्यसरी भ्रमण भिसाको अवधि सकिएकाहरुको संख्या हजारौँ हुनसक्ने प्रवक्ता आचार्यले बताए ।
बंगलादेशीलाई नेपाल ल्याउने गिरोह बंगालीहरुकै भए पनि नेपालबाट विदेश पठाइदिन्छु भन्ने गिरोह नेपालकै भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुको दोहोरो मिलेमतोमा त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाइएको भेटिएको छ । प्रवक्ता आचार्यले हालसम्म उनीहरुको आपराधिक गतिविधि नखुलेको बताएपछि केही समय पहिले बागबजारस्थित एउटा होटेलमा बंगलादेशी चामल भरिएको टिनका बक्सामा सयौंको संख्यामा शंकास्पद हातहतियार भित्रिएको काण्ड प्रहरी प्रशासनले ढिसमिस पारेको थियो ।
उता, म्यान्मारबाट आएका हजारौं रोहिंग्या शरणार्थीहरुलाई पनि नेपाली पासपोर्ट बनाईदिएर विदेश पठाउने गिरोहलाई समेत प्रहरीले खुलेआम हिँड्न दिएको बताइन्छ । उक्त गिरोहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहभण्डारीलाई अघिल्लो कार्यकालमा एक रिसोर्टमा बोलाएर पार्टी दिएको खुलासा भएको थियो । हालै मात्र एक चिनियाँले धादिङ जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएको घटना बाहिरिएको थियो । सुरक्षा मामिलाका जानकारहरुले यस्ता गतिविधिमा हेलचक्र्याईं गरिरहे मुलुकको शान्ति सुरक्षा संकट पर्ने चिन्ता प्रकट गरेका छन् ।