बीमा कम्पनीहरुमा दावीको ओइरो, जलविद्युत, गाडी, सम्पत्तिको सबैभन्दा धेरै

१४ आश्विन २०८१, सोमबार १५:३८

काठमाडौं । शुक्रबार र शनिबार आएको भिषण बाढी पहिरोमा पुगेको धनजनको क्षतिको प्रत्यक्ष प्रभाव निर्जीवन बीमा क्षेत्रमा परेको छ । निर्जीवन बीमा कम्पनीहरुमा बीमा बीमितहरुले बीमा दावी गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै हाईड्रोपावरको बीमा दावी परेको छ । हालसम्म २० वटा जलविद्युत कम्पनीमा क्षति पुगेको छ । त्यसको बीमा दावी कम्पनीहरुमा परिसकेको छ ।

त्यस्तै, दोस्रो नम्वरमा सवारी साधनको बीमा दावी धेरै परेको छ । बाढीले गाडी बगाएको, क्षति पुर्याएको दावी यस पटक धेरै नै परेको छ । त्यस्तै, घर तथा सम्पत्ति बीमा पनि दावी उल्लेख्य मात्रामा परेको छ । एक निर्जीवन बीमा कम्पनीको दावी विभागका कर्मचारीले भने, ‘यस पटकको बाढीमा बीमा दावी धेरै नै पर्यो हामीलाई ह्याण्डल गर्न भ्याई नभ्याई नै भएको छ ।’

सम्पत्ति बीमा अन्तर्गत गोदाममा स्टक गरेर राखिएको मालबस्तुको बीमा दावी सबैभन्दा धेरै परेको बीमा कम्पनीहरुको भनाई छ । पानी परेका कारण गोदाममा राखिएका बस्तुहरु पानीले डुबाउने, सड्ने र बिग्रने समस्याहरुको बीमा दावी परेको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दावी भुक्तानी प्रक्रिया छरितो बनाउन र बीमा सर्भेयरलाई उच्च सतर्कतामा राख्ने निर्णय गरिसकेको छ । बीमितले सरल तरिकाले दावी भुक्तानी गर्ने व्यवस्था मिलाइएको बीमा प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधैं फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*