बाढीपीडितलाई एक करोड ११ लाख रुपैयाँ सहयोग गर्ने भाटभटेनीको घोषणा

१४ आश्विन २०८१, सोमबार १४:३७

काठमाडौँ। भाटभटेनी सुपरस्टोरले हालै आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले यस सहयोग प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताएका छन्। उनले पछिल्लो समय आएको अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित भएको अवस्थाले मुलुकलाई गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै यस दुःखद घडीमा सहयोग गर्नुपर्ने नागरिक जिम्मेवारी भएको बताएका छन्।

गुरुङले भने, ‘बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छु।’ उनले यस रकम बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा खर्च गरिने बताए।

कम्पनीका प्रमुख सञ्चालन अधिकारी पानु पौडेलले यस सहयोग रकम सरकारले सञ्चालन गरिरहेको राहत कोषमा हस्तान्तरण गरिने जानकारी दिए।

सरकारी तथ्यांक अनुसार, गत शुक्रबारबाट सुरु भएको अविरल वर्षाका कारण देशभर १९३ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। बाढीपहिरोका कारण अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ। मुलुकमा परेको यस अप्ठेरो समयमा सहयोग गर्नु सबैको जिम्मेवारी भएको प्रतिक्रिया भाटभटेनी सुपरस्टोरले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*