बाढीका कारण १६ जलविद्युत आयोजना क्षतिग्रस्त, कुनको अवस्था कस्तो ?

१३ आश्विन २०८१, आईतवार ११:३५

काठमाडौँ । हालैको बाढीका कारण नेपालभर विभिन्न स्थानमा निर्माणाधीन र सञ्चालित जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अनुसार, प्रारम्भिक विवरणअनुसार १६ जलविद्युत आयोजना बाढीको चपेटामा परेका छन्।

यस बाढीले आयोजना तहसनहस पार्नुका साथै उत्पादन र निर्माण कार्य ठप्प भएको छ। सञ्चार सम्पर्क विच्छेदका कारण केही आयोजना र क्षतिबारे अझै विस्तृत विवरण आउन बाँकी छ।

प्रभावित आयोजनाहरू
1. बागमती साना जलविद्युत आयोजना (२२ मेगावाट), मकवानपुर
प्रवद्र्धक: मान्डू हाइड्रोपावर
– पावर हाउस पूर्णरूपमा डुबानमा परेको छ।

2. तल्लो हेवाखोला जलविद्युत आयोजना (२२.१ मेगावाट), पाँचथर
प्रवद्र्धक: माउन्टेन हाइड्रो नेपाल
– गत वर्षको बाढीबाट पनि प्रभावित यो आयोजनाको पावर हाउस फेरि डुबानमा परेको छ।

3. हेवाखोला जलविद्युत आयोजना (१४.९ मेगावाट), पाँचथर
प्रवद्र्धक: पाँचथर पावर
– पुनर्निर्माण कार्य लगभग सम्पन्न भएको बेला पुनः बाढीले आयोजनालाई क्षति पुर्‍याएको छ।

4. सोलु दुधकोशी जलविद्युत आयोजना (८६ मेगावाट), सोलुखुम्बु
प्रवद्र्धक: साहस ऊर्जा
– हेडवर्क्समा क्षति पुगेको कारण उत्पादन ठप्प भएको छ।

5. माइखोला क्यासकेड जलविद्युत आयोजना (३ मेगावाट), इलाम
प्रवद्र्धक: सगरमाथा जलविद्युत कम्पनी
– बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द।

6. माइखोला जलविद्युत आयोजना (९.६ मेगावाट), इलाम
प्रवद्र्धक: सगरमाथा जलविद्युत कम्पनी
– बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ।

7. फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट), पाँचथर
– बाँध र विद्युतगृह पूर्णरूपमा क्षति भएको छ।

8. सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट), लमजुङ
– टेलरेस, इन्टेक, र टनेलमा क्षति भएको छ।

9. सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट), लमजुङ
– पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा पनि क्षति भएको छ।

10. इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट), धादिङ
– पहुँचमार्गमा ठूलो क्षति पुगेको छ।

11. माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट), नुवाकोट
– क्याम्प हाउस, पहुँचमार्गमा क्षति, साथै ३ वटा कन्टेनर बगाएको छ।

12. हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट), पाँचथर
– क्रसर पुरिएको, पहुँचमार्ग क्षतिग्रस्त, प्रसारणलाइनको टावर ढलेको, र पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ।

13. सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट), पाँचथर
– पहुँचमार्ग, पावर हाउस पुरिएको, बाँधमा क्षति, अस्थायी पुल बगाएको छ।

14. सभाखोला सी जलविद्युत आयोजना (६.३ मेगावाट), पाँचथर
– पहुँचमार्गमा क्षति पुगेको छ।

15. लान्द्रुक मोदी जलविद्युत आयोजना (८६.५९ मेगावाट), कास्की
– पहुँचमार्गमा क्षति पुगेको छ।

16. सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट), नुवाकोट
– २ वटा स्काभेटर, २ वटा लोडर, ३ वटा ट्रिपर, र बेलीब्रिज बगाएको छ। पावर हाउस स्काभेसन पनि पुरिएको छ।

क्षतिपूर्तिको चुनौती

इप्पानका अनुसार बाढीले क्षति पुर्याएका आयोजनाहरूको पुनःनिर्माण र मर्मतसम्भार चुनौतीपूर्ण हुनेछ। कतिपय आयोजनाहरूको पुनः सञ्चालनका लागि लामो समय लाग्न सक्ने देखिन्छ। यद्यपि, सबै क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेकाले थप जानकारी पछि उपलब्ध गराइनेछ।

अहिलेसम्म बाढीका कारण ठप्प भएका जलविद्युत आयोजनाहरूले राष्ट्रिय विद्युत उत्पादनमा प्रभाव पार्ने निश्चित भएको छ। क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र मर्मत कार्यमा संलग्न सरोकारवाला निकायहरूले यस कठिन परिस्थितिलाई सम्बोधन गर्न तत्काल कदम उठाउनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*