पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार ताप्लेजुङ जिल्ला, कोशी प्रदेश, र समग्र नेपालको विकास तथा समृद्धिमा कोसेढुङ्गो सावित हुने बताएका छन्। काठमाडौंमा ताप्लेजुङ सरोकार केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै ढकालले पाथीभरा केवलकारको निर्माणले स्थानीय क्षेत्रको मात्र नभई राष्ट्रिय स्तरमै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यस आयोजनालाई समयमै सम्पन्न गर्न सम्पूर्ण सरोकारवालालाई सहयोग गर्न आह्वान गरे।
अध्यक्ष ढकालले पाथीभरा केवलकार परियोजनामा स्थानीय बासिन्दालाई सतप्रतिशत रोजगारी दिने आफ्नो अडान पुनः दोहोर्याए। संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको माग गरे पनि ढकालले स्थानीयहरूलाई शतप्रतिशत प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै पर्यटन प्रवर्द्धन र आर्थिक विकासको महत्त्वलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।
ढकालले भने, ‘हामी निजी क्षेत्रले स्वदेशमै लगानी गर्न नदिएर बाह्य लगानीमात्र खोज्नु गलत हुनेछ। स्वदेशी लगानीलाई प्रोत्साहित गर्नु पहिलो प्राथमिकता हुनुपर्छ।’
अध्यक्ष ढकालका अनुसार पाथीभरा केवलकारको निर्माण प्रक्रियाको सबै कानूनी तथा प्रशासनिक चरणहरू पूरा भइसकेको छ। उनले निर्माणको काम १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी गराए। परियोजना आइएमई समूह र चन्द्र ढकालको मात्र नभई पाथीभरा, ताप्लेजुङ र कोशी प्रदेशको महत्त्वपूर्ण आयोजना भएको भन्दै ढकालले सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।
ढकालले सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकभर पर्यटन विकास र रोजगारी सिर्जनाको अभियानमा रहेको बताए। उनले पाथीभरा केवलकार निर्माणले पर्यटन पूर्वाधार निर्माण गर्न सहयोग पुर्याउने, जसबाट रोजगारी सिर्जना, व्यवसायिक गतिविधि, र राजश्व वृद्धि हुने कुरामा जोड दिए।
उनले भने, ‘पाथीभरा केवलकार स्थानीय, बालबालिका, तथा वृद्धवृद्धाहरूलाई विशेष सेवा दिने छ। थप सेवा सुविधाको आवश्यकता भएमा छलफल गर्न हामी सधैं तयार छौं।’
अध्यक्ष ढकालले नेपालको पर्यटन विकासका लागि केवलकार आयोजनाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, ‘विदेशी लगानी भित्र्याउन ठूलो खर्च गरिरहेका छौँ तर स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ। पर्यटन विकासलाई प्राथमिकतामा राखेर मात्र मुलुकको समृद्धि सम्भव छ।’
ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्नु गलत रहेको भन्दै ताप्लेजुङको पर्यटन विकास र समृद्धिको लागि केवलकार परियोजना अपरिहार्य रहेको बताए। ‘म आफ्नो व्यक्तिगत फाइदालाई मात्रै हेर्ने भए अन्यत्र पाँचतारे होटल खोल्थेँ। पाथीभरा केबलकार पर्यटन र स्थानीय विकासको लागि हो’ उनले भने।