विपदमा व्यापारीको मनपरी, हरियो धनियाँ किलोकै ८ सय 

सरकार भन्छ-खाद्यान्न अभाव हुँदैन, मूल्य बढ्दैन
१३ आश्विन २०८१, आईतवार ०९:०३

काठमाडौं । बाढी र पहिरोको विपत्तीकाबीच बजारमा व्यापारीले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् । शनिबार उपत्यकामा बाढी मच्चाएको वितण्डापछि व्यापारीले मनलाग्दी मूल्य लिन थालेका हुन् । टुकुचा किनारका केही थोक व्यापारीले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेको भेटिएको छ ।

सबैतिरका नाका ठप्प भएपछि नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौं भित्रिन पाएको छैन । मौज्दातमा भएको तरकारी र वरपरबाट आएको तरकारीलाई व्यापारीले मनलाग्दी मूल्य लिएको उभोक्ताको गुनासो छ ।

उपत्यकाकै ठूलो कालिमाटीको तरकारी तथा फलफूल थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको देखिएको छ । काटीमाटी मै हरियो धनियाँ प्रतिकिलो ३०० देखि ५०० सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । बाढीले उपत्यकाका तरकारी बजारमा करिब ५ करोडको क्षति पुगेको बताइएको छ ।

उता, सरकारले भने अत्यावश्यक खाद्यान्न अभाव नहुने र मूल्यवृद्धि पनि नहुने जिकिर गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बजारमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने र मूल्यवृद्धि पनि नहुने बताएका छन् । तर, व्यापारीले मौका यहि हो भन्दै मनलाग्दी मूल्य लिन थालेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल आठ हजार मेट्रिक टन चामल मौज्दात रहेको सचिव कार्कीको भनाइ छ । उनका अनुसार बाटो खुल्दासम्मका लागि सरकारी निकाय र निजी कम्पनीहरुसँग रहेको सञ्चितीले पुग्ने र लगत्तै आपूर्ति नियमित भइसक्छ ।

उपभोक्ता अधिकारकर्मीहरुले भने बाढीपहिरोको मौका छोपेर व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भएकाले अनुगमनको आवश्यकता रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*