देशभर अविरल वर्षाको वितण्डाः राजमार्ग अवरुद्ध हुँदा काठमाडौँको लाइफ लाइन बन्द, किसान चिन्तित

११ आश्विन २०८१, शुक्रबार १८:२२

काठमाडौँ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ। देशभरि सक्रिय मनसुनका कारण विभिन्न नदीहरूमा बाढीले खतराको तह नाघ्दा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेको छ।

बागमती, मनोहरा, विष्णुमती लगायतका काठमाडौं उपत्यकाका प्रमुख नदीहरू खतराको तहमा पुगेका छन्। यी नदीका तटीय क्षेत्रमा यात्रा गर्ने र बसोबास गर्ने बासिन्दालाई सावधानी अपनाउन निर्देशन दिइएको छ। यसका साथै, कोइली नदी, बन्गाई, पर्सा खोला, महेशपुर, सिन्धुपाल्चोकको नाकोटे, र पूर्व(पश्चिम राजमार्गमा रहेको अन्य नदीहरूमा पनि बाढीको अवस्था गम्भीर छ। देशभरका ४४ वटा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहँदा बाढीको क्षति बढ्ने सम्भावना छ।

कुलेखानी जलाशयमा पानीको स्तर बढिरहेको हुँदा नेपाल विद्युत प्राधिकरणले ड्याम खोल्नुपर्ने अवस्था आउन सक्ने बताएको छ। त्यस क्षेत्रका बस्तीहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ। यससँगै बागमतीको आसपासका क्षेत्रहरूमा पनि बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन भनिएको छ।

वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएको छ। विशेष गरी नारायणगढ–मुग्लिन सडकमा आज राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिरोका कारण मानवीय र भौतिक क्षति रोक्न रातको समयमा गाडी चलाउन रोक लगाइएको हो। यसैकारण, काठमाडौं उपत्यकाका मुख्य यातायात मार्ग अवरुद्ध हुँदा राजधानीको लाइफलाइन नै बन्द भएको छ।

देशभर साना ठूला गरी सयौं राजमार्ग अवरुद्ध छन्। अत्यावश्यक बाहेकको यात्रा नगर्न नियामक निकायले आग्रह गरिरहेको छ। यसबाट गन्तव्यमा पुग्न नसकेका सयौं गाडीहरू बाटोमै जाममा फसेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ। आन्तरिक उडानमा विमानहरू आकाशमै चक्कर काट्न बाध्य भए भने अन्तर्राष्ट्रिय उडानहरूले पनि अवतरण गर्न नसकेर लामो समय आकाशमै रहने स्थिति आएको छ।

अविरल वर्षाले किसानहरूलाई थप हैरानी दिएको छ। बालीनाली भित्र्याउने समयमा परेको यस पानीले धेरैजसो तराई क्षेत्रमा अन्नबालीहरू नष्ट भएका छन्। पानीको कारण खेतमा डुबेका बालीले किसानहरूलाई चिन्तामा पारेको छ, जसले गर्दा उनीहरू आगामी खाद्यान्न संकटको त्रासमा छन्।

मौसमविद्हरूले आइतबारसम्म निरन्तर वर्षा हुने भविष्यवाणी गर्दै सुरक्षित रहन आग्रह गरेका छन्। पहाडी क्षेत्रमा पहिरोको जोखिम झन् बढिरहेको हुँदा सर्वसाधारणलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नजान निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*