६ वर्षपछि सरकारको लक्ष्य पूराः एभरेष्ट बैंकले बझाङको साइपालमा खोल्यो शाखा

११ आश्विन २०८१, शुक्रबार १५:४९

काठमाडौँ । नेपाल सरकारले ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य ६ वर्षपछि सफलतापूर्वक पूरा गरेको छ। एभरेष्ट बैंकले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरी बैंकिङ सेवा सञ्चालन गरेसँगै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याइएको छ।

यससँगै देशका प्रत्येक स्थानीय तहमा कम्तिमा एक वाणिज्य बैंकको शाखा स्थापना भएको छ, जुन नेपाल सरकारको महत्त्वपूर्ण उपलब्धि हो। नेपालले २०७३ सालमा संघीय संरचनामा प्रवेश गरेपछि सरकारले सबै ७५३ स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो। त्यसपछिको वर्षमा, नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो।

बैंकहरूले राष्ट्र बैंकको निर्देशनलाई सकारात्मक रूपमा लिँदै सबै स्थानीय तहमा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए। तर, विभिन्न चुनौतीका कारण तत्काल शाखा विस्तार गर्न सम्भव भएन।

शाखा स्थापना गर्न बैंकहरूले सरकारसँग पूर्वाधार उपलब्ध गराउने माग गरेका थिए, जसमा सडक, बिजुली, इन्टरनेटलगायतका आधारभूत पूर्वाधार प्रमुख थिए। तर, कतिपय दुर्गम स्थानीय तहमा पूर्वाधार विस्तारमा ढिलाइ हुँदा बैंकहरूले समयमै शाखा स्थापना गर्न सकेका थिएनन्।

विशेषगरी पहाडी र हिमाली क्षेत्रका स्थानीय तहहरूमा बैंकिङ सेवा विस्तार गर्न असहजता उत्पन्न भयो। बैंकहरूले सहरमुखी क्षेत्रमा सहजै शाखा विस्तार गरे पनि ग्रामीण क्षेत्रमा पूर्वाधार अभावका कारण शाखा सञ्चालनमा जटिलता आए। यसका साथै, स्थानीय सरकारसँगको समन्वयमा ढिलाइ हुँदा बैंकिङ सेवाको विस्तारमा थप समय लाग्यो।

अन्ततः, एभरेष्ट बैंकले २०७४ असारमा सुरु भएको शाखा विस्तारको क्रमलाई ६ वर्षपछि पूरा गर्दै बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। यस शाखासँगै अब सबै ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध भएको छ। साइपाल जस्तो दुर्गम क्षेत्रमा बैंक शाखा सञ्चालन गर्नु बैंकिङ सेवाको पहुँच वृद्धि र आर्थिक समृद्धिको लागि सकारात्मक कदम हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*