जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९% ले बढ्योः नेशनल र एलआईसीको प्रतिस्पर्धा, सिटिजन र रिलायबलको उत्कृष्ट ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीहरुको ब्यवसाय ३० अर्ब रुपैयाँ माथि रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोढ ८२ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
सर्वाधिक धेरै बीमा ब्यवसाय गर्नेमा नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । साउन र भदौ महिनामा नेपाल लाइफले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँको ब्यवसाय गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा १२.८० प्रतिशतले बढी हो ।
यसअवधिमा सर्वाधिक बीमा ब्यवसाय वृद्धि गर्नेमा सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अग्र स्थानमा रहेका छन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सिटिजनको ब्यवसाय २६.३८ प्रतिशतले बढेर १ अर्ब २७ करोड र रिलायबलको २६.५४ प्रतिशतले बढेर ८५ करोड ४७ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको साउन र भदौमा नेशनल लाइफको ब्यवसाय २३ प्रतिशतले बढेर ३ अर्ब ५८ करोड, एलआइसी नेपालको ७.९७ प्रतिशतले बढेर ३ अर्ब ३० करोड, हिमालयन लाइफको ४.८५ प्रतिशतले बढेर ३ अर्ब १० करोड, सूर्यज्योति लाइफको १९ प्रतिशतले बढेर १ अर्ब ८४ करोड र एशियन लाइफको २०.५७ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
यता, सानिमा रिलायन्सको ब्यवसाय ८.९० प्रतिशतले बढेर १ अर्ब १० करोड, मेट लाइफको ४ प्रतिशतले बढेर ९६ करोड, प्रभु महालक्ष्मीको ५.७१ प्रतिशतले बढेर ८७ करोड, आइएमई लाइफको ७.९२ प्रतिशतले बढेर ८२ करोड र सन नेपाल लाइफको २२.२८ प्रतिशतले बढेर ७७ करोड पुगेको छ ।
यसअवधिमा ब्यवसाय घट्ने कम्पनीका राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको ब्यवसाय ७० प्रतिशतले घटेर १ अर्ब ६ करोडमा सीमित भएको हो ।