अन्नपूर्णको काखमा रहेको छोम्रोङमा ४५औँ विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाइयो

११ आश्विन २०८१, शुक्रबार १०:०६

काठमाडौँ । अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ छोम्रोङमा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।

समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको छोम्रोङ ट्रेकिङको लागि निकै चर्चित छ। यो गाउँ अन्नपूर्ण बेस क्याम्प जाने मुख्य मार्गमा पर्दछ, जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण र अन्य हिमालहरूको नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ। चोम्रोङबाट देखिने हिमालहरूको मनोरम दृश्यले यस गाउँलाई पर्यटकीय केन्द्रको रूपमा स्थापित गरेको छ।

दिवसको अवसरमा चोम्रोङमा आगन्तुक पर्यटकलाई खादा र माला लगाएर स्वागत गरिएको थियो। यस वर्षको विश्व पर्यटन दिवसको नाराको रूपमा ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ चयन गरिएको छ भने नेपालमा यसलाई ‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइँदै छ।

विश्व पर्यटन दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत गर्नेदेखि लिएर, पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान जस्ता विविध कार्यक्रमहरू आयोजना गरिने योजना गरिएको छ।

पर्यटन दिवसले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिको प्रवर्द्धन गर्दै विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*