बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्वारा रिब्दीकोट गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रिब्दीकोट गाउँपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता खस्यौली पाल्पामा सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फबाट मानवीय जीवनका हरेक क्षेत्रमा बीमाको महत्त्वबारे प्रकाश पारिएको थियो। विभिन्न क्षेत्रहरूमा गरिने बीमा कार्यक्रमले जीवनलाई सहज र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा छलफलको मूल विषयवस्तु रह्यो। बीमा प्राधिकरण र रिब्दीकोट गाउँपालिका दुवैले स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्ने र बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहजीकरणको प्रतिवद्धता व्यक्त गरे।
गाउँपालिका अध्यक्ष कार्कीले बीमाले स्थानीय बासिन्दाहरूको जीवनमा सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै, बीमा सेवाको महत्त्वबारे थप जानकारी दिन स्थानीय तहले निरन्तर प्रयास गर्ने बताए। उनले बीमा पहुँचमा वृद्धि गर्न गाउँपालिकाको पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए।
कार्यक्रमले रिब्दीकोट गाउँपालिकाका स्थानीयलाई बीमाको आवश्यकता र यसका फाइदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको छ। बीमा प्राधिकरणले स्थानीय तहसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गर्ने योजना अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।