आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गरे । उनले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताए ।
उनले, ‘विकासको परिभाषा नै परिवर्तित भयो । पहिला हामी आर्थिक वृद्धि भएपछि विकास भयो भन्थ्यौँ, पछि विकासलाई हामीले मानव विकास भन्न थाल्यौँ । अलि पछि गएर हामीले दिगो विकास भन्यौँ र वातावरण मात्र होइन दिगो विकासको सामाजिक र आर्थिक पक्ष पनि हुन्छ, वातावरणीय पक्ष मात्रै हुँदैन भनेर हामीले दिगो विकासलाई अलि चौडा बनाउन थाल्यौँ । दिगो विकासको कुरा गर्दा गर्दै समृद्धिको कुरा गर्न थाल्यौँ । समृद्धिको बाटो अलि लामो छ । लामो यात्रा गर्नुपर्छ । तर ठिक बाटोमा त हामी हिँडिरहेका छौँ ? गन्तव्य त हाम्रो ठिक छ ? प्रस्थान बिन्दु नै हाम्रो गलत भयो भने पुगिँदैन । त्यसकारण समृद्धिको मार्गमा हामी जानको लागि हाम्रा कतिपय नीतिहरु मिलाउनुपर्छ । रि इन्जिनियरिङ होइन, इन्जिनियरिङ गर्नुपर्ने कुरा पनि छन् । कतिपय नीतिगत कुराहरु अपर्याप्त छन् । हामी सबैले महशुस गरेका छौँ । हाम्रा आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन् ।’
पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासयनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले डिजिटल इकोनोमि आजको आवश्यकता रहेको भन्दै यसले विद्युतीय अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताए ।