यो पल्ट कु’साइतमा बडादशैंको टीका लगाउँदै नेपाली, के हो वास्तविकता ?
काठमाडौं । यो पल्ट पनि विजया दशमीको टीका साइत विवादमा परेको छ । सूर्य पञ्चाङ्ग अनुसार यो पल्ट दशैं घटेको अवस्था छ । यो पल्टको नवरात्रमा नवमी हराएको छ । त्यसमा पनि विजया दशमीको टीका मध्यान्हअघि नै लगाउनु पर्ने साइतलाई उपयुक्त मानिएको छैन । केही पंडित तथा ज्योतिषाचार्यले त नवमीमा देवी विसर्जन गर्न लगाएर नेपाल पञ्चाङ्ग निर्णायक समितिले मुलुकमा उपद्र मच्चाउन खोजेको आरोप लगाएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो पल्ट असोज २६ गते शनिबार बिहान ८ः३३ बजे देवी विसर्जन गर्ने र ११ः३६ बजे टीका ग्रहण गर्ने भनी साइत दिएको छ । यो पल्ट तुलजाभवानी यात्रा, स्थिरासन र खड्गजात्रा समेत टीकाभन्दा पछि परेको छ ।
ज्योतिष रत्ननिधी रेग्मी ‘शुक्राचार्य’ले पञ्चाङ्गले निर्णायक समितिले दिएको साइत कसैला लागि पनि टीका ग्रहणयोग्य नरहेको बताएका छन् । उनले भनेका छन्, ‘समितिले टीका ग्रहणको साइत ११ः३६ बजे दिएको छ । त्यति बेला नेपाली आकाशमा धनु लग्न र मिथुन नवमांशको उदय हुनेछ । लग्नेश वृहस्पति छैटौंमा छ भने मंगल लग्नको सातौं भाव मिथुनमा छ । अग्निकारक मंगलले लग्न देख्नु राम्रो साइत होइन । मंगल भनेको अग्निकारक ग्रह हो, संस्कृतमा यसलाई अंगारक भनिएको छ । जसले देख्यो कि अंगार बनाइदिन्छ । त्यसैले, यो पल्टको साइत शुभ छैन ।’ उनले अपरान्ह अपराजिता देवीको पूजा विसर्जन गरेपछि मात्रै प्रसादस्वरुप टीका ग्रहण गर्नु उपयुक्त हुने बताएका छन् ।
शुक्राचार्यले जिकिर गरेको जस्तो शनिबारका दिन नवमी भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए । उनले भने, ‘विजया दशमीका दिन नवमी छैन । अघिल्लो दिन नै सकिन्छ । तर, यो पल्ट दशैं घटेको छ । नवरात्रबाट, नवमी गायव छ । दशैँ घटेको वर्ष राज्य पक्षलाई नोक्सान हुने भन्ने मान्यता छ ।’
उनका अनुसार, एउटा लोकउक्ति नै छ ‘दशैँ घटे राज्य पिर्ने, श्राद्ध घटे बाहुन पिर्ने’ भनेर । त्यस कारण यो पल्ट संयमित भएर दशैँ मान्नुपर्ने अवस्था रहेको प्राध्यापक गौतमले बताएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने तिथि घटबढ् हुनु सामान्य भएकाले यसलाई अन्यथा भन्न नहुने बताएको छ ।