दैनिक २ करोड ३० लाखको विदेशी स्याउ खान्छन् नेपालीः दुई महिनामा १ अर्ब ३८ करोड आयात

१० आश्विन २०८१, बिहीबार ०९:४८

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र नेपालमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म १ करोड ३४ लाख ७७ हजार ७५९ केजी स्याउ नेपाल भित्रिएको छ, जसको आर्थिक मूल्य १ अर्ब ३८ करोड ३८ लाख ५ हजार रुपैयाँ रहेको हो ।

विदेशी स्याउको आयातमा मुख्य योगदान भारत, चीन र भुटानको रहेको छ । साउन र भदौ महिनामा मात्र भारतबाट २३ करोड ९ लाख ६१ हजार, चीनबाट १ अर्ब १५ करोड २८ लाख १८ हजार र भुटानबाट २५ हजार रुपैयाँको स्याउ आयात भएको हो ।

विदेशी स्याउको अत्यधिक आयातले नेपाली बजारमा प्रतिदिन २ करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ उपभोग भइरहेको छ । दशैं र तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै विदेशी स्याउ नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । विशेषगरी भारत र चीनबाट आयात भएका स्याउले नेपाली बजार भरिएका छन् । हाल काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार स्याउको मूल्य प्रतिकेजी ४ देखि ६ सय रुपैयाँसम्म रहेको छ, जसले उपभोक्ताहरूको रोजाइमा विदेशी स्याउलाई प्रमुखता दिएको देखाउँछ ।

नेपाली बजारमा विदेशी स्याउले प्रमुख स्थान ओगटेको छ, जसबाट राज्यले २७ करोड ४५ लाख ९८ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । तर यो विदेशी आयातको बढ्दो प्रभावले स्वदेशी स्याउ उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ । नेपाली स्याउ, विशेष गरी कर्णाली प्रदेशको जुम्ला क्षेत्रमा उत्पादित स्याउ, बजारमा उचित मूल्य पाउन नसकेको देखिएको हो ।

नेपाली किसानहरूले आफ्नै देशमा उत्पादन गरेको स्याउलाई बजारसम्म ल्याउन ठूलै कठिनाई भोग्नुपरेको छ । कर्णालीका विकट गाउँहरूबाट स्याउ बजारसम्म ल्याउनका लागि यातायातको अभाव, खराब भौगोलिक संरचना र सरकारको उपेक्षाका कारण किसानहरू निराश भएका छन जसोतसो बजारसम्म आइपुगे पनि बिचौलियाहरूले उचित मूल्य नदिँदा किसानहरूको मेहनत खेर गइरहेको छ ।

नेपाली स्याउको गुणस्तर र स्वास्थ्यको दृष्टिकोणले उत्कृष्ट मानिए पनि उपभोक्ताहरूले विदेशी स्याउलाई प्राथमिकता दिने गरेका छन् । विशेषगरी, विदेशी स्याउको आकर्षक रंग, आकार र चिल्लोपनका कारण नेपाली उपभोक्ताहरूको ध्यान विदेशी स्याउतर्फ केन्द्रित हुने गरेको छ। विदेशी स्याउमा विषादीको मात्रा अत्यधिक हुने कुरा थाहा हुँदाहुँदै पनि नेपाली ग्राहकहरूले स्वदेशी स्वच्छ स्याउलाई बेवास्ता गरिरहेका छन् । यसले स्वदेशी स्याउका उत्पादकहरूलाई थप चुनौतीपूर्ण परिस्थितिमा पु¥याएको छ।

कर्णाली प्रदेशको जुम्ला, हुम्ला र मुगु जस्ता क्षेत्रहरूमा स्याउ खेती मुख्य आयस्रोत हो । यी क्षेत्रका किसानहरूले बर्षौंदेखि स्याउ खेतीलाई जीविकोपार्जनको साधनका रूपमा अंगालेका छन् । तर, विदेशी स्याउको अत्यधिक आयातले गर्दा उनीहरूको उत्पादनले बजार पाउन नसक्दा जीवनयापनमा समस्या हुँदै आएको छ । सरकारले स्वदेशी स्याउको प्रवर्द्धनमा कुनै ठोस कदम नचालेका कारण किसानहरू चिन्तित छन् ।

बिचौलियाहरूको हस्तक्षेपका कारण स्याउ उत्पादक किसानहरूले बजारसम्म आफ्ना उत्पादन पु¥याउँदा न्यूनतम मूल्यसमेत प्राप्त गर्न कठिन भइरहेको छ । बिचौलियाहरूले कम मूल्यमा स्याउ किनेर उच्च मूल्यमा बजारमा बिक्री गर्ने गरेका छन्, जसले किसानहरूको मुनाफा घटाउँदै लगेको छ। यसका साथै, यातायात र भण्डारणको अभावले गर्दा उत्पादनको ठूलो मात्रा खेर जाने गरेको छ । यसका कारण किसानहरू यो पेसा नै छोड्ने अवस्थामा पुगेका छन्।

सरकारले नेपाली स्याउलाई प्रवर्द्धन गर्नेतर्फ आवश्यक पहल गरेको देखिँदैन । बरु, विदेशी आयातको बढ्दो प्रक्रियामा मौन समर्थन रहेको देखिन्छ । कर्णाली प्रदेश जस्ता दुर्गम स्थानहरूबाट उत्पादित स्याउलाई बजारसम्म ल्याउनका लागि सरकारले कुनै ठोस कार्यक्रम नल्याउनुले किसानहरूको निराशा बढाइरहेको छ ।

विकासको सन्दर्भमा सरकारको प्राथमिकता ठूला परियोजनाहरूमा देखिँदा कृषि क्षेत्रको उपेक्षा हुँदै आएको छ। सरकारका सम्बन्धित निकायहरूले स्याउ उत्पादनलाई व्यावसायिकरण गर्न र किसानलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन उचित योजना बनाउन नसक्दा किसानहरू निराश छन् ।

कर्णाली प्रदेशको जुम्ला लगायतका क्षेत्रमा उत्पादन हुने स्याउको गुणस्तर विदेशी स्याउभन्दा कुनै पनि हिसाबले कम छैन । तर, सरकारी बेवास्ता, बजारको अभा र बिचौलियाको हस्तक्षेपले गर्दा किसानहरूले उचित लाभ लिन सकेका छैनन् ।यसले गर्दा किसानहरूले अन्य रोजगारीको खोजीमा लाग्ने अवस्था आएको छ।

सरकारले स्वदेशी स्याउको संरक्षण र प्रवर्द्धन गर्न तत्काल कदम चाल्न आवश्यक छ । कृषकलाई सहुलियतपूर्ण भण्डारण सुविधा, बजारमा पहुँच र उचित मूल्यको सुनिश्चितता गर्नुपर्ने आवश्यकता छ। साथै, स्वदेशी स्याउलाई प्राथमिकता दिने नीति ल्याउन सके, नेपाली किसानको भविष्य उज्ज्वल हुन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*