भुक्तानी माग गर्दै निर्माण ब्यवसायी कार्यवाहक प्रधानमन्त्रीको दैलोमा, ‘सरकारको प्राथमिकता हाम्रो समस्या परेन’
काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् ।
निर्माण व्यवसायीहरुले नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार निर्माण व्यवसायीहरुका समस्या समाधान हुने ठूलो आशा राखे पनि दुई महिनासम्म पूरा हुन नसकेको बताए । निर्माण व्यवसायीहरुका समस्या समाधान हुने अपेक्षा कमजोर भएको उल्लेख गरे । निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रुपमा काम गर्ने वातावरण बनाउने आश्वसन पाएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरुमा निराशा छाएको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको दुई महिना भएपनि निर्माण व्यवसायीका समस्यामा सरकार मौन बसेको बताए । उनले सरकारले गर्नुपर्ने भुक्तानी र अन्य समस्या तत्काल समाधान हुने आशा जगाए पनि निर्माण व्यवसायीहरुले अनुभव गर्न नपाएको गुनासो गरे । उनले आपूर्ति चक्रमा समस्या हुँदा भुक्तानी गर्न नसकिएको बताए । उनले मौद्रिक नीतिले मंसिर महिनासम्म निर्माण व्यवसायीहरुले बुझाउनुपर्ने किस्ता र ब्याजको लागि सहुलियत दिएपनि त्यसले निर्माण क्षेत्र चलायमान हुनसक्ने अवस्था नरहेको बताए ।
अध्यक्ष सिंहले वर्षातपछि निर्माणको योजना बनाउनुपर्ने समय भएपनि व्यवसायीहरुले निर्माणको योजना बनाउन नसकेको बताए ।