चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्ष २०८०।८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहनेछ। एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक अनुसार, आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटन सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि हुने देखिएको छ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘सामान्य मनसुनका साथ कृषि क्षेत्रको उत्पादनमा सुधार हुनेछ, र विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिमा टेवा दिनेछ।’ साथै, पर्यटक आगमनमा वृद्धिले सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। एडिबीले लचक मौद्रिक नीति र पुँजीगत बजेट खर्चमा तीव्रता आउने उल्लेख गर्दै, थोक तथा खुद्रा व्यापार, यातायात, र घरजग्गा जस्ता व्यावसायिक गतिविधिहरूमा सुधारको अनुमान गरेको छ।
मुद्रास्फिति नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको लक्ष्य राखेको छ, जसलाई हासिल गर्न सकिने एडिबीको प्रक्षेपण छ। नेपालका लागि मुख्य आयात स्रोत भारतमा मुद्रास्फिति घटेसँगै नेपालको मुद्रास्फितिमा पनि सामान्य गिरावट आउने अनुमान गरिएको छ।
बाह्य क्षेत्रमा व्यापार घाटा घट्दै गएको, विप्रेषण आप्रवाहमा सुधार, र पर्यटक आगमनमा वृद्धि देखिएको छ। यद्यपि, चालु खाता घाटा आर्थिक वर्ष २०८१र८२ मा कुल गार्हस्थ उत्पादनको एक प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ।
एडिबीले भनेको छ कि मध्यपूर्वको भूराजनीतिक तनाव र जलवायु प्रकोपहरूले नेपालको अर्थतन्त्रमा दीर्घकालीन जोखिम हुन सक्नेछन्। एसियाली विकास बैंकले एसिया र प्रशान्त क्षेत्रको समावेशी, उत्थानशील, र दिगो विकासमार्फत् चरम गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।