ठूला बैंकहरुको लगानी संकटमा, ऋण लगानीमा आईएमएफले किन गर्यो शंका ?
काठमाडौं । नेपालका ठूला तथा वाणिज्य बैंकहरुको ऋण लगानी संकटमा परेको संकेत अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको छ । उसले नेपालका ठूला बैंको ऋण लगानीप्रतिको आशंका क्लियर गर्न कर्जा पोर्टफोलियोको समीक्षा अघि बढाउन सुझाव दिएको छ ।
सेप्टेम्बर ११ देखि २२ सम्म नेपा भ्रमणमा रहेको आईएमएफ टोलीले गरेको छलफपछि जारी विज्ञप्तीले बैंकहरु उच्च निष्क्रिय कर्जा र पूँजी अवरोधको अफ्ठ्यारोबाट गुज्रिनु पर्ने औंल्याएको छ । आईएमएफ कागजी तथ्याङ्क र ग्राउण्डको वास्तविक चित्र खोतल्न खोजिरहेको छ । उसले ठूला बैंकहरुले कर्जा फोर्टफोलियो समीक्षा (सीपीआर) पूरा गरी निरन्तर सतर्कता अपनाउन सुझाव दिएको छ ।
वाणिज्य कानूनका जानकार डा. रुद्र शर्माका अनुसार नेपालको व्यवसाय र सुशासनको अवस्थालाई नजिकबाट नियालिरहेको आईएमएफ नेपाली बैंकहरुको ननपर्फर्मिङ एसेट (एनपीए) कसरी युरोप- अमेरिकाको भन्दा मुनि देखियो भनी सशंकित छ । जुन बनावटी तथ्याङ्क हो भन्ने चाल आईएमएफले पाइसकेको छ ।
सुशासनको अवस्था राम्रो भएका र व्यवसायिक सुधार भएका युरोप, अमेरिकामा एनपीए ५ देखि ८ प्रतिशतसम्म हुँदो रहेछ, डा. शर्माले बीमापोष्टसँग भने, ‘नेपालको आर्थिक अनुशासन तथा सुशासनको प्रफर्मेन्स हेर्दा ९ देखि १० प्रतिशत एनपीए हुनुपर्ने हो । तर, ३ देखि ४ प्रतिशत देखाइन्छ । त्यस कारण कागजी तथ्याङ्क र ग्राउण्डको वास्तविक अवस्था थाहा पाउन चाहन्छ, आईएमएफ ।’
बैंक तथा वित्तीय संस्थाको नियमलाई सुदृढ बनाउन १० ठूला बैंकको ऋण पोर्टफोलियकोको समीक्षा पुरा गर्न आवश्यक रहेको आईएमएफले औंल्याएको छ । नेपालमा विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यान्वयनका लागि आईएमएफले राखेको एउटा महत्वपूर्ण शर्त हो, कर्जा फोटफोलियो समीक्षा अर्थात् क्रेडिट फोर्टफोलिया रिभ्यु-सीपीआर ।
जुन नेपाल राष्ट्र बैंकले यसअघि नै आह्वान गरेपनि आर्थिक तथा प्राविधिक हिसाबले कुनै पनि कम्पनी योग्य नदेखिएको भन्दै रोकिएको थियो । राष्ट्र बैंकले उक्त प्रस्तावलाई फेरि प्रक्रियामा लैजाने योजना बनाएको छ ।