दशैं-तिहार अफरः गाडी किन्दा बीमा सुविधादेखि उपहारसम्म, ५ देखि १५ लाख छुट सुविधा

७ आश्विन २०८१, सोमबार १५:२३

काठमाडौँ । दशैंको चहलपहल सुरु भएसँगै अटोमोबाइल बजारमा पनि विशेष चहलपहल देखिएको छ । हरेक वर्षको जस्तै यसपटक पनि अटोमोबाइल कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । नयाँ गाडी किन्न चाहने उपभोक्ताहरूका लागि यो अवसर निकै उपयुक्त भएको मानिन्छ । कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न फरक–फरक छुट योजना र सुविधाहरू ल्याएका छन्, जसले गर्दा धेरै ग्राहकहरू गाडी खरिद गर्न तर्फ आकर्षित भएका छन् ।

अटोमोबाइल कम्पनीहरूले दशैंको अवसरमा ल्याएका अफरहरूमा मुख्यतया नगद छुट, बीमा सुविधा, एक्सचेन्ज योजना र विभिन्न उपहार योजनाहरू रहेका छन् । यी अफरहरूले गाडी खरिदलाई अझ सहज र किफायती बनाइदिन्छ । अधिकांश कम्पनीहरूले गाडीको मूल्यमा ठूलो नगद छुट दिने योजना अघि सारेका छन् । यसका साथै, गाडी खरिद गर्ने ग्राहकहरूका लागि बीमा सुविधा पनि प्रदान गरिने छ, जसले गर्दा दुर्घटना वा अन्य अप्रत्याशित घटनामा गाडी मर्मत खर्चको भार ग्राहकले व्यहोर्नु नपरोस् ।

बजारमा विद्युतीय गाडीहरू पनि लोकप्रिय हुँदै गएका छन् । ग्राहकहरूको चासोलाई ध्यानमा राख्दै, अटोमोबाइल कम्पनीहरूले विद्युतीय गाडीहरूमा पनि विशेष अफरहरू उपलब्ध गराएका छन् । विद्युतीय सवारी साधनहरूमा नगद छुट, ब्याट्रीमा दीर्घकालीन वारेन्टी र निशुल्क चार्जिङ सेवाजस्ता योजनाहरू पनि रहेका छन् । विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियतासँगै कम्पनीहरूले ग्राहकहरूलाई अझ प्रोत्साहित गर्न यी योजना ल्याएका हुन् ।

पुराना गाडीलाई नयाँ गाडीमा एक्सचेन्ज गर्ने चाहना राख्ने ग्राहकहरूको लागि पनि विशेष योजना छ। धेरै कम्पनीहरूले पुरानो गाडीलाई नयाँ गाडीमा साट्ने सुविधा उपलब्ध गराएका छन् । यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ गाडी लिँदा विशेष छुट प्राप्त गर्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो पुरानो गाडीको उचित मूल्य पाउनका साथै नयाँ गाडी खरिदमा थप सहुलियत दिनेछ।

ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, दशैंको अफरहरू उनीहरूको लागि निकै लाभदायक बनेका छन् । विशेष गरी, गाडी खरिद गर्नका लागि दशैंको समयलाई उपयुक्त मान्ने प्रचलन रहेको छ । धेरै ग्राहकहरूले चाडपर्वका समयमा अफरहरूलाई ध्यानमा राख्दै गाडी खरिद गर्ने योजना बनाउने गर्छन् । यसले गर्दा अटोमोबाइल बजारमा दशैंको समय ठूलो चहलपहल देखिन्छ । ग्राहकहरूको प्रतिक्रिया अनुसार, नगद छुट र अन्य योजनाहरूले उनीहरूको आर्थिक भारलाई घटाउन मद्दत पु¥याएको छ । साथै, एक्सचेन्ज अफरहरूले पुरानो गाडीको उचित मूल्य पाउने सुनिश्चितता दिएको छ ।

हुन्डाईका गाडी १० लाखसम्म छुट

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित गर्दै ‘फेस्टिभ डिलाइट–२०८१’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा १० लाखसम्म नगद छुट पाइने व्यवस्था कम्पनीले गरेको हो ।

यसका साथै कम्पनीले स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका र १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने बताएको छ । एक भाग्यशाली ग्राहकले मेड इन नेपाली हुन्डाई भेन्यू लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ल्याएको यसै अफरमा हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

निसानको गाडि किन्दा १५ लाख छुट

नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित गर्दै कम्पनीले ल्याएको यो अफरअन्तर्गत निसान गाडीको खरिदमा विभिन्न सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल मोडलका गाडी खरिद गर्ने ग्राहकहरूले विशेष छुट पाउनेछन् ।

निसान गाडी बुकिङ गर्ने ग्राहकलाई १ वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ । यसैगरी गाडीको खरिदमा ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने व्यवस्था पनि कम्पनीले ल्याएको हो । यो योजना चाडपर्व अवधिभरि लागू हुने कम्पनीको भनाइ छ ।

होण्डका गाडि खरिद गर्दा ५ लाख छुट

नेपालमा होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले दशै अफरअन्तर्गत रहेर गाडी खरिद गर्दा धेरै छुट योजना सार्वजनिक गरेको छ । ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ अन्तर्गत ग्राहकले ५ लाखसम्म छुट पाउनेछन् ।

कम्पनीका अनुसार दशैंमा होण्डाका कुनै पनि मोडलका गाडीको खरिदमा ५ लाखसम्म नगद छुट पाइने छ । यसका साथै कम्पनीले २ वर्षका लागि गाडीको बीमा र ५ वर्षमा १० वटा सर्भिसिङको सुविधा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकहरूलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा उपलब्ध गराउनेछ । यस्तै, होण्डाले आफ्ना ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन्स’ को सुविधा दिनुका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ ।

सुजुकीको गाडिमा किन्दा कति छ छुट ?

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजनाको घोषणा गरेको छ । कम्पनीले दशैं–तिहारको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अफर’ नामक योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरकफरक किसिमका छुटहरू लागू हुने कम्पनीले बताएको छ ।

टाटा मोटर्सको पनि आकर्षक योजना

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दशैं लक्षित आकर्षक योजनाको घोषणा गरेको छ । सार्वजनिक उक्त योजनाअन्तर्गत रहेर टाटाको प्रत्येक कमर्शियल गाडी खरिदकर्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् ।

योजनामा होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन् । ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाचको समावेश गरिएको छ । यसै गरी टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिने कम्पनीले जानकारी दिएको छ । यसका साथै ग्राहकहरूले यो चाडपर्वको अवसरमा गाडी बुकिङसमेत स्मार्ट वाच वा इयरपड प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । सिप्रदीका अनुसार टाटाका जुनसुकै मोडलका गाडीको खरिदमा उक्त अफर लागू हुनेछ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दशैं लक्षित यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।

सिट्रोन गाडी किन्दा पेट्रोल फ्री

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा चाडपर्व लक्षित अफर ल्याएको छ । दशैँ र तिहार नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई थप सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको बताएको छ ।

पेट्रोल कार सी ३ खरिद गर्ने ग्राहकले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउनेछन् । ग्राहकले यो कार खरीद गर्दा ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्ने बताइएको छ । यस्तै, विद्युतीय कार ईसी ३ साइनको खरीदमा विशेष नगद छुटको व्यवस्था रहेको छ । जसमा निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा प्रदान गरिएको छ । कम्पनीले यसलाई प्रीबजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*