दुर्गा प्रसाईंका समर्थकले तीनवटा भारतीय ट्रकमा आगो लगाए, देशभरको माहोल अशान्त

७ आश्विन २०८१, सोमबार १०:४०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उत्रिएका समर्थकले झापामा तीन भारतीय ट्रकमा आगो लगाइदिएका छन् । प्रहरीले आइतबार झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले भक्तपुरको घरबाट पक्राउ गरेकोको विरोधमा समर्थकले झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका हुन् ।

प्रसाईं समर्थकहरुले आइतबार राति छुट्टा–छुट्टै स्थानमा वटा ३ वटा ट्रकमा आगजनी गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनका अनुसार आगजनीमा संलग्नको खोजी भइरहेको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका–८ स्थित बिरिङ खोलाको पुलमा यूपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी भएको थियो । यस्तै, सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ मा डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा प्रसाईं समर्थकले आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीन वटै ट्रकमा क्षति पुगेको छ ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाबारे आपत्तिजन टिप्पणी गरेपछि साइबर व्यूरो उजुरी परेको र विद्युतीय कारोबार ऐन अनुुरुप प्रसाईंलाई पक्राउ पुर्जी जारी भएको बताइएको छ । गएको बुधबार पक्राउको अनुमति पाएको प्रहरीले आइतबार मात्रै प्रसाईंलाई पक्राउ गरेर अदालतमा पेश गरेको हो । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजेको भन्दै देशभरबाट कार्यकर्ताहरु आन्दोलित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*