नयाँ राजनीतिक परिदृष्यको रेखा कोरिँदै

७ आश्विन २०८१, सोमबार १०:१८

काठमाडौं । टिप्पणीकार सिके लालले भने झैं ‘नेपाल फेरि राजनीतिक अवस्था र व्यवस्था परिवर्तनको संघारमा’ आइपुगेको छ । नेपालको संविधान २०७२ जारी भएको तीन वर्ष पुग्दा नपुग्दै उनले टिप्पणी गरेका थिए, ‘नेपालमा १०-१० वर्षको अन्तरालमा व्यवस्था परिवर्तनको खराब इतिहास छ ।’ उनले भने झैं व्यवस्था परिवर्तन भएको वा गणतान्त्रि संविधान जारी भएको ९ वर्ष पूरा भएर १० वर्ष लागेको छ । नभन्दै दलहरुका गतिविधि नयाँ राजनीतिक परिदृष्यउन्मुख भएका छन् ।

प्रतिनिधि सभामा बलियो उपस्थिति भएका दुई ठूला दल कांग्रेस-एमाले संविधान संशोधनको बहानामा सत्तामा पुगेका छन् । तत्कालीन अवस्थामा संविधान संशोधन सहज छैन । र, पनि उनीहरुले सर्वपक्षीय सहमतिको बहानामा संविधान संशोधनलाईअघि सारेका छन् ।

अर्कोतर्फ प्रतिपक्षमा रहेका दलहरुले समाजवादी मोर्चा व्यूँत्याएका छन् । वामपन्थी शक्तिलाई एकतावद्ध गरी एउटै बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित २०८० असार ४ गते मोर्चा गठन भएको थियो ।
सुरुमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मोर्चा गठन गरेका हुन् । माओवादी केन्द्र र एमाले सरकारमा गएपछि मोर्चा सेलाएको थियो । अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट विद्रोह गरेको महिन्द्रराय यादव समूह मोर्चामा समावेश भएको छ भने मोहनविक्रम सिंहको मसाललाई पनि मोर्चामा सहभागि गराउने निर्णय भएको छ ।

सत्तारुढ एमाले-कांग्रेस दुबैले आगामी निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने आधिकारिक निर्णय गरेसँगै समाजवादी मोर्चा व्यूँत्याउन लागि परेका माओवादी अध्यक्ष प्रचण्डले साना दलसँग सहकार्यको ढोका खुला गरेका छन् ।  उनले प्रतिनिधि सभामा चौथो दलको रुपमा रहेको रास्वपाको साथ नछोड्ने प्रतिवद्धता जनाएका छन् भने सरकारविरुद्ध सडक र सदनबाट घुँडा धसेर लाग्ने क्रिया खाएका छन् । जसमा रास्वपाले समेत सहमति जनाइसकेको छ । सडक र सदन संघर्षले सिप नलागे माओवादी केन्द्र र रास्वपा संसदबाटै बाहिरिएर जनविद्रोहमा जाने विषयमा समेत गृहकार्य चलेको बुझिएको छ । प्रचण्ड निकट एक नेताका अनुसार आफुहरु विभिन्न विकल्पबारे छलफलमा रहेको बताए ।

प्रचण्डले रास्वपालाई साथ लिएर माओवादीबाट छुट्टिएर गएका अन्य धारहरुलाई समेत एकै ठाउँमा आउन आह्वान गरिसकेका छन् । उनको कम्युनिष्ट ध्रूवीकरणको अभियानमा दशैंतिहार पछि सत्ताधारी एमाले समेत फर्किने आँकलन गरिएको छ भने त्यसपछि फेरि कांग्रेस सत्ताबाहिर हुने भित्रि वातावरण तयार भइसकेको ती नेताले बताएका छन् ।

अर्कोतर्फ सहकारी सञ्चालकविरुद्धको कारबाही सशक्त पार्दा सत्ताधारी एमाले समेतलाई ठूलो असर पर्ने भएका कारण पनि नयाँ सत्ता समीकरणको गन्ध आउन सुरु भइसकेको छ । कारणः सबैभन्दा बढी सहकारी एमाले निकटस्थहरुका छन् । तिनको अपचलनका फाइलहरु खुल्न बाँकी नै छन् । र, जसले ठूलै हलचल ल्याउने बताइँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*