६७ कम्पनीको ३८ अर्बको फाइल स्वीकृतिको पर्खाइमा: ९० नेटवर्थ माथिका कम्पनीको आइपीओ प्रक्रिया अघि बढ्दै

६ आश्विन २०८१, आईतवार १२:१७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको स्वीकृति माग गर्दै आवेदन दिने कम्पनीहरुकोे चाङ लागेको छ । विगत ८ महिनादेखि आइपीओ निष्कासनको अनुमति नपाउँदा ६७ कम्पनी बोर्डको पाइपलाइनमा रहेका हुन् ।

बोर्डमा ६७ कम्पनीले २९ करोड ४८ लाख ९९ हजार कित्ता बराबरको ३८ अर्ब ३९ करोड १८ लाख रुपैयाँको आइपीओ निष्कासनका लागि आवेदन दिएका हुन् । बोर्डले गत पुस तेस्रो सातादेखि नयाँ कम्पनीलाई आइपीओ निष्कासन गर्न स्वीकृति दिएको छैन । तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै कुनै पनि कम्पनीले आइपीओ निष्कासनको अनुमति पाउन सकेको छैन ।

बोर्डको कार्यवाहक अध्यक्ष अर्थमन्त्रालयले पठाइरहेको भए पनि आइपीओ स्वीकृत दिन भने सकेका छैनन् । कम्पनीहरूले आइपीओ, हकप्रद, म्युचुअल फन्ड, डिबेन्चर शेयर बजारबाट पुँजी सङ्कलन गर्न नपाउँदा अर्थतन्त्रको शिथिलता बनेको तर्क हुँदै आइरहेका छन् । नेपालको धितोपत्र बजारमा नयाँ कम्पनीहरूको प्रवेशले पुँजी प्रवाहलाई सहज बनाउन सक्थ्यो, तर ८ महिनासम्म आइपीओ निष्कासन प्रक्रिया ठप्प हुँदा निजी क्षेत्रलाई पुँजी अभावको समस्या झेल्नुपरेको छ । आइपीओको प्रक्रियामा परेको ढिलाईको प्रमुख कारण संस्थागत नेतृत्वको अभाव हो ।

अर्थमन्त्रालयले अहिले बोर्डमा महेश बराललाई कार्यवाहक अध्यक्ष रूपमा पठाएको धेरै भइसकेको छ । तर, अझै कुनै पनि कम्पनीले आइपीओ निष्कासनको अनुमति पाउन सकेको छैन । गत साताको अर्थ समितिमा बरालले आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको फाइल अघि बढेको बताएका छन् । बरालले भने, ‘लामो समय रोकिएर बसेको आइपीओका फाइल हामीले अघि बढाएका छौँ । अझै नेटवर्क ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै छौँ ।’

बरालले कम्पनीहरूको वित्तीय क्षमता र बजारमा उनीहरूको प्रभावका आधारमा आइपीओ फाइलहरू प्रक्रिया गर्नेतर्फ सेबोन अघि बढ्ने जनाएका छन् । लामो समय रोकिएर बसेको आइपीओ, हकप्रदलगायतका शेयर अब खुल्ने आशामा लगानीकर्ता रहेका छन् ।

बरालले भने जस्तै नेटवर्क ९० भन्दा कम भएका कम्पनी बोर्डको पाइपलाई १६ वटा मात्र रहेका छन् भने ७ कम्पनीहरूले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । जस अनुसार ४८ कम्पनीले आइपीओ निष्कासनका लागि दिएको आवेदनको फाइल अघि बढेको छ ।

अब दशैपछि मात्र आइपीओ प्रक्रिया अघि बढ्ने बोर्ड स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘बरालसँगको निर्देशनमा कैफियत नभएका कम्पनीहरूको आइपीओ निष्कासनको फाइल अघि बढाइरहेका छौँ । तर, फाइल अघि बढे पनि दशैपछि मात्र अनुमति पाउने छन् ।’

प्रिमियममा आइपीओ निष्कासनका लागि दिएको आवेदनहरू तत्काल अघि नबढ्ने उनले बताए । ‘प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि परेका आवेदन तत्काल अघि बढ्दैनन् । तिनीहरू पूर्ण रूपमा अध्यक्ष आइसकेपछि मात्र अघि बढाउने कुरा छ । प्रिमियममा आइपीओ निष्कासनका लागि आवेदन दिएका कति कम्पनीमा महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएको छ । त्यस कारण पनि तिनीहरू अघि पर्ख र हेरको अवस्था हुन्छन्’ स्रोतले भन्यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*