दशैंतिहारको मुखैमा खाने तेलको हाहाकार गराउन ठूलो चलखेल, सरकार चुपचाप

६ आश्विन २०८१, आईतवार १०:५५

काठमाडौं । नेपालीहरुका दुई ठूला चाड दशैंतिहार नजिकिँदै गर्दा व्यापारीले खाने तेलको मूल्य बढाउन चलखेल सुरु गरेका छन् । दुई सातामा खाने तेलको मूल्य होलसेल मै लिटरमा ३० रुपैयाँले बढेको छ भने मूल्य अझै आकाशिने हल्ला छ । सरकार मूल्यवृद्धिमा हस्तक्षेप गर्नुको साटो सुपथ मूल्यका पसलको प्रचार गरेर उपभोक्ता अल्मल्याइरहेको छ ।

भारतले पाम, सोयाबिन र सनफ्लावरको कच्चा तेलमा २० प्रतिशत भन्सार दर बढाएको बहाना गरेर नेपाली तेल व्यापारी मूल्य बढाउन लागि परेका छन् । त्यति मात्र नभई उनीहरुले भारतनिर्यात गरेर मोटो रकम हत्याउन नेपालमा मौज्दात कम देखाएको समेत भेटिएको छ ।

दशैंतिहारमा तेलको उच्च खपत हुने मौका छोपेर व्यवसायीले मूल्य बढाउन अनेक बहाना खोजिरहेका छन् । तर, वास्तविकता भने अर्कै छ । नेपाली तेल रिफाइन कम्पनी एवं व्यापारीले गलत कुरा फैलाएर चाडबाडमा मनग्य कमाउन खोजेका छन् । उनीहरुले हाल गरेको दुबै कुरा गलत छन् ।

खाने तेलको कच्चा पदार्थका लागि भारतसँग कुनै साइनो छैन । तर, व्यापारीले कच्चा तेलमा भारतले २० प्रतिशत भन्सारदर बढाएको हल्ला फैलाएका छन् । खासमा सरकारले यो पल्ट बजेटमा भन्सार विन्दुमै २० प्रतिशत अग्रिम आयकर अग्रिम तिर्नु पर्ने व्यवस्था राखेपछि अफ्ठेरो परेको मात्रै हो । तर, पछि पनि आयकर तिर्नै पर्ने भएका कारण यसले मूल्यवृद्धि नगर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनका अनुसार अग्रिम आयकरको विषयले खाने तेलको मूल्यमा एक प्रतिशत पनि प्रभाव पर्दैन ।

उनले भने, ‘पहिले व्यापारीले आर्थिक वर्षको अन्तिममा आयरकर बुझाउँदै आएकामा यो पल्ट सरकारले बजेट मै २० प्रतिशत अग्रिम आयकर तिर्नु पर्ने, त्यो पनि भन्सार विन्दुमै भनेपछि व्यापारीलाई बहाना मिलेको हो ।’ सरकारले बजेटमा त्यस्तो व्यवस्था गरेपछि आफुहरुले व्यापारी र उपभोक्ता दुबैलाई मर्कापर्छ भनेर विरोध गरेको र सरकारलाई ज्ञापनपत्र बुझाएको महर्जनले सुनाए । र, त्यो बेला व्यापारीले पनि यसमा आपत्ति जनाएको उनको भनाइ छ ।

सरकारले बजेटमा नाफाको २० प्रतिशत अग्रिम आयकर बुझाउनुपर्ने व्यवस्था गरेको भए पनि त्यसैलाई बहाना बनाएर मूल्यवृद्धि गर्ने कुरा गैरकानूनी भएको र त्यो खारेजभागि हुने उपभोक्ता अधिकार सम्बन्धमा पैरवी गर्दै आएका कानूनव्यवसायीको तर्क छ ।

भन्सार विन्दुको कर लागू नहुँदा एक कार्टुन (१० लिटर) सनफ्लावर तेलको मूल्य १८ सय रुपैयाँ थियो । अहिले बढेर २१ सय रुपैयाँ पुगेको छ । तोरी र सोयाबिन तेलको मूल्य पनि बढेको छ । होलसेल व्यवसायीहरुका अनुसार तेलको ब्रान्डअनुसार तोरी तेलको मूल्य प्रतिलिटर १ सय ८५ रुपैयाँ थियो । अहिले बढेर २ सय ५ रुपैयाँ पुगेको छ । सोयाबिन तेलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ थियो । मूल्य बढेर प्रतिलिटर २ सय १० रुपैयाँ पुगेको छ ।

भारतले समेत त्यसरी भन्सार विन्दुमा अग्रिम कर लगाएको छ । र, भारतले आयात गर्ने कच्चा खाने तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमध्यमले उल्लेख गरेका छन् । तर, नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भने भन्सार तिर्नु पर्दैन । उक्त सुविधाको फाइदा उठाउँदै उद्योगीले उल्लेख्य नाफा कमाउन स्वदेश भन्दा भारततर्फ बिक्री बढाएका छन् ।

भारतमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट तेलका लागि कच्चापदार्थ आउँछ । नेपाली उद्योगीले समेत तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर रिफाइन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

खुद्रा व्यापार संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले बजारमा खाने तेलको अभाव नभए पनि मूल्य भने बढेको बताए । होलसेलमा मूल्य बढेपछि त्यसको असर खुद्रामा पनि स्वतः पर्छ, उनले भने, ‘नयाँ लटअनुसार मूल्य बढेर आएको भनिएको छ । होलसेल व्यवसायीले लिटरमै २० देखि ३० रुपैयाँ मूल्य बढेको भनेका छन् । तर केही लटमा लिटरमै १२ देखि १३ रुपैयाँसम्म बढेर आएको छ । दुई–चार दिनमा थप नयाँ लटको तेल आउँछ । र, फेरि भूल्य बढ्ने हल्ला छ ।’

कोषाध्यक्ष श्रेष्ठले समेत रिफाइन कम्पनीहरुले भारतमा तेल बेच्न निकै मौज्दात होल्ड गरेर राखेको जिकिर गर्नु भएको छ । तेलमा ‘कार्टेलिङ’ गरेर मूल्य बढाउन चलखेल भइरहेकाले सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । उपभोक्ता अधिकारकर्मीहरुले त यसमा संलग्न सबैलाई कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले सिमेत तेलको मूल्यका विषय भारतसँग जोडेर दशैंतिहारमा मूल्य बढाउन उद्योगीले मौज्दात राखेको सूचना आफूहरुले पाएको बताए । बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणको दायित्व विभागको भएका कारण यसमा कडाईका साथ छानविन हुने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*