मेयर बलायरको विवादास्पद कदमः एकै विद्यालयको दुई पटक उद्घाटन, कार्यप्रवृत्तिमा गम्भीर प्रश्न

दिपक बिष्ट
५ आश्विन २०८१, शनिबार ११:२८

काठमाडौँ । संघिय र प्रदेशको निर्देशिकालाई नै धज्जी उडाइरहेको डोटि जिल्लाको शिखर नगरपालिकाले उद्घाटन भइसकेको विद्यालय भवन पुनः उद्घाटन गरेको खुलासा भएको छ । नगरपालिका मेयर दिर्घ बलायरले वडा न. ४ मा रहेको शारदा माविलाई दोस्रो पटक उद्घाटन गरेका हुन् ।

यसअघि उक्त विद्यालयको २०८१ साल भदौ १३ गते पूर्वमेयर शिताराम जोशिले उद्घाटन गरेका थिए । तर, एक महिना नबित्दै अहिलेका प्रमुख बलायर फेरी उद्घाटन गरेका हुन् । प्रचार पाउन कै लागि विद्यालयको भवन पुन उद्घाटन भएको स्थानियहरुको आरोप रहेको छ ।

स्थानिय कै आग्रहमा आफुले यसअघि नै उद्घाटन गरी सकेको विद्यालयको पुनः उद्घाटन भएको पूर्वमेयर जोशिले बताए । उनले भने, ‘सहरी विकास मन्त्रालयले बनाइदिएको भवन हो । त्यहाँका स्थानिय नै पूर्वमेयर भएको बेला तपाई पहलले बनेको भवन भएकाले उद्घाटन गरिदिन आग्रह गरेका थिए । सो विद्यालय प्लस टु बनाउँदा मेरै नेतृत्वमा बनेको थियो । त्यो बेला म विद्यालय ब्यवस्थापनको अध्यक्ष थिए ।’

अहिलेका मेयर बलायरले अभिभावक र स्थानियको अनुपस्थितमा शिक्षक र विद्यार्थीको सहभागिता गराई भवन उद्घाटन गरेको जोशिले बताए । ‘स्थानियलगायत सोहि वडाका अध्यक्ष सहभागि नभइसकेपछि शिक्षकलाई थर्काएर विद्यार्थीको सहभागितामा भवन उद्घाटन भएको छ’ उनले भने ।

यस विषयमा वडा अध्यक्ष टेक बहादुर मल्लले पनि पुष्टि गरे ।  शारदा माविको उद्घाटन भदौ १३ गते भइसकेको थियो र मेयर बलायरको पुनः उद्घाटनमा उनले सहभागिता जनाएका थिएनन्। मल्लका अनुसार, ‘पहिला नै उद्घाटन भइसकेको हुँदा म पुनः जाने कुरा थिएन।’

पूर्व मेयर जोशिले भदौ १३ गते गरेको उद्घाटन

यता, मेयर बलायर भने आफु स्थानिय सरकार भएको हुँदा विद्यालय उद्घाटनको दायित्व आफ्नो रहेको बताउँछन् । उनले भने, ‘हिजो अस्ति मेयर गएर गरेको हो यसअघि कसले के गर्यो के थाहा हुन्छ (आक्रोशित हुँदै) नगरपालिकाको मेयर म हो । नगरपालिकाको मेयर गएर विद्यालय उद्घाटन गर्यो सकियो कुरा । शिखर सरकारको सदस्यको हैशियतले मैले विद्यालय भवनको उद्घाटन गर्ने पाउँदैन । दुई चोटी मात्र होइन पाँच चोटी नि हुन सक्छ ।’

यसअघि उद्घाटनको विषयमा नगरपालिकालाई कुनै पत्र प्राप्त नभएको बताउँदै बलायर आफुलाई थाहा नभएको बताए । आफुलाई जानकारी नै नभएपछि विद्यालयको उद्घाटन गरीएको उनले बताए ।

अहिले दुई चोटी भवन स्थापना भएको भन्दै स्थानियहरुले समाजिक सञ्जालमा आक्रोश पोखि रहेका छन् । एक स्थानियले भने, ‘देखाओटी कामका लागि नगरपालिका पहिलो स्थानमा छ । तर पालिकामा राम्रो काम भएको केहि देखिदैन । त्यो भवन उद्घाटन नगरेको भए के हुथ्यो र खै मेयर बलायर प्रचारका लागि रमाएको पाइन्छ ।’

मेयर बलायरले असोज ४ गते गरेको उद्घाटन

शिखर नगरपालिकामा भएको यो विवादले शिक्षा प्रणाली र स्थानीय प्रशासनको कार्यप्रवृत्तिमा गम्भीर प्रश्न उठाएको छ। विद्यालयको उद्घाटन भनेको केवल उद्घाटन मात्र होइन, त्यसले शिक्षा र विकासका लागि एउटा चिजको प्रतिनिधित्व गर्दछ। यस घटनाले स्थानीय राजनीतिक परिप्रेक्ष्यमा महत्वपूर्ण सन्देश पठाएको छ कि कस्तो प्रकारका कार्यहरूले केवल राजनीतिक लाभको लागि गरिनु हुँदैन। शिक्षा भनेको सबैभन्दा महत्वपूर्ण आधार हो र यसलाई राजनीति र प्रचारको चश्माबाट मात्र हेर्नु हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*