अप्पर तामाकोशीका जिल्लाबासी कर्मचारीद्वारा शान्तिपूर्ण आन्दोलनको घोषणा

४ आश्विन २०८१, शुक्रबार १०:३८

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाबासी करार कर्मचारीहरूले कम्पनी व्यवस्थापनविरुद्ध शान्तिपूर्ण संघर्षका कार्यक्रम घोषणा गरेका छन्। व्यवस्थापनले विगत २ वर्षदेखि दोलखाबासी कर्मचारीहरूलाई विभेद गर्दै आएको र यसबारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको आरोप उनीहरूको छ।

दोलखाबासी कर्मचारीहरूले जिल्ला बाहिरका कर्मचारीहरूसँग तुलना गर्दा समान सेवा सुविधा नपाएको र हालै केही सेवा सुविधामा कटौती समेत गरिएको बताएका छन्। उनीहरूले विभेद अन्त्य गर्दै सेवा सुविधामा समानता स्थापित गर्न कम्पनीसँग माग गर्दै आएका थिए।

संघर्ष समितिका संयोजक राम बहादुर खड्काका अनुसार, यसअघि भदौ २८ गते कम्पनीलाई एक साताको अल्टिमेटम दिएको भए पनि व्यवस्थापनले कुनै प्रतिक्रिया नदिएपछि शान्तिपूर्ण संघर्षको कार्यक्रम अगाडि बढाइएको हो।

शान्तिपूर्ण संघर्ष अन्तर्गत असोज ४ र ५ गते शान्तिपूर्ण धर्ना तथा असोज ६ गतेबाट माग पूरा नभएसम्म कम्पनीको सवारी साधन संचालनमा रोक लगाइने कार्यक्रम तय गरिएको छ। तर, दोलखाको गोंगरस्थित पावर प्लान्टको संचालनमा भने अवरोध नपुर्याइने संघर्ष समितिले स्पष्ट पारेको छ।

संघर्षका कार्यक्रम पूरा नहुँदासम्म कम्पनी व्यवस्थापन र कर्मचारीबीचको विवाद समाधानको लागि वार्ता गर्न दबाब सृजना हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*