शिखरले ३६ लाखको औषधि खरिद, व्यवस्थापन त्रुटिले म्याद सकिएको औषधि आपूर्तिको आशंका

३ आश्विन २०८१, बिहीबार १७:०३

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले नेपाल सरकारको शसर्त बजेट उपशिर्षकमार्फत लाखौं रुपैयाँको औषधि खरिद गरेको छ। कुल ३६ लाख २२ हजार ८५२ बराबरको औषधि खरिद भए पनि आपूर्तिमा आवश्यक विवरणको अभाव र औषधिको मौज्दात तथा उपयोगमा गम्भीर अनियमितता देखिएको हो ।

यस वर्ष शिखर नगरपालिकाले Helping Multipurpose Pvt. Ltd Kathmandu र Vital Medi Distributors Dhangadhi जस्ता फर्महरूसँग e-bidding प्रक्रिया मार्फत १९ लाख १० हजार २ रुपैयाँको औषधि खरिद गरेको देखिन्छ। यस्तै, सोझै खरिद विधिबाट सुदुरपश्चिम मेडिसिन डिस्ट्रिब्युटर्स धनगढी र फर्मा केम सप्लायर्स धनगढीबाट पनि १७ लाख १२ हजार ६५० बराबरको औषधि खरिद गरेको तथ्य सार्वजनिक भएको छ।

तर, खरिद गरिएको औषधि र औषधिजन्य सामग्रीको आपूर्ति गर्दा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर र उत्पादक कम्पनीको नामजस्ता महत्वपूर्ण विवरण स्पष्ट गरिएको छैन। यसले गर्दा औषधिको मौज्दात र प्रयोगको अवस्था एकिन गर्न कठिनाई उत्पन्न भएको छ। औषधिको म्याद सकिने मिति पनि भण्डारण समयमा कम्तीमा २४ महिना बाँकी हुनुपर्ने प्रावधान उल्लङ्घन गरिएको छ।

विशेषगरी, नगरपालिका स्तरमा औषधि खरिद, भण्डारण र वितरणमा पारदर्शिता र जिम्मेवारीको अभाव देखिएको हुँदा शिखर नगरपालिकालाई औषधि व्यवस्थापन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता छ। मौज्दातको अभाव र वितरणमा भएको अन्योलले जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पर्ने खतरा बढेको छ। पालिकाले आपूर्ति व्यवस्थापनलाई व्यवस्थित गर्न र भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*