दशैंमा दुई पाङ्ग्रे सवारी अफरः नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन कम्पनीले के दिए ?

२ आश्विन २०८१, बुधबार १२:३६

काठमाडौँ । नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिरहेका छन्। ग्राहकहरूको चाडपर्वको उत्साहलाई ध्यानमा राख्दै, यी कम्पनीहरूले आफ्ना मोटरसाइकल र स्कुटर खरिदमा विशेष सहुलियत र लाभको व्यवस्था गरेका हुन् ।

नयाँ मोटरसाइकल र स्कुटरको खरिदमा नगद छुट, एक्सचेन्ज सुविधा र बम्पर उपहारसम्मका अफरहरूसहित कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्दै ग्राहकको ध्यान खिच्ने प्रयास गरिरहेका छन् । नेपाली बजारमा दशैं, तिहार, र छठ जस्ता चाडहरूमा सवारी साधन विशेषगरी मोटरसाइकल र स्कुटरको माग निकै बढ्ने गर्छ । परिवार र साथीभाइसँग भेटघाट, घुमफिर र व्यापारिक प्रयोजनका लागि पनि चाडपर्वमा नयाँ सवारीको आकर्षण बढ्छ । युवापुस्ताले विशेष गरी चाडपर्वमा नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न रुचाउने भएकाले सवारी बिक्रेता कम्पनीहरूले यस अवसरलाई व्यापार वृद्धिको सुनौलो अवसरका रूपमा लिएका छन् ।

विगतका वर्षहरूमा जस्तै यो वर्ष २०८१ को चाडपर्वलाई लक्षित गर्दै बिक्रेता कम्पनीहरूले आफ्ना ग्राहकहरूको लागि विशेष छुटको व्यवस्था गरेका छन् । कम्पनीहरूले सवारी साधनको मूल्य घटाएर नगद छुट, सजिलो वित्तीय योजना र पुराना सवारीको साटफेर गरेर नयाँ मोटरसाइकल वा स्कुटर लिने सुविधासम्म उपलब्ध गराएका छन् ।

यस चाडपर्वमा विभिन्न कम्पनीहरूले गरेका अफरले बजारमा प्रतिस्पर्धा झन् चर्काएको छ । ग्राहकहरूले पनि अफरका कारण विभिन्न ब्रान्डहरूबीच तुलना गरेर सर्वाधिक लाभदायक योजना छनोट गर्न थालेका छन् । यसले गर्दा विशेषगरी युवा र मध्यमवर्गीय परिवारहरूलाई मोटरसाइकल र स्कुटर खरिद गर्न सजिलो बनाएको छ।

देशभर लोकप्रिय रहेका प्रमुख दुई पाङ्ग्रे सवारी ब्रान्डहरूले यस वर्ष विभिन्न प्रकारका अफर ल्याएका छन् । केही प्रमुख कम्पनीहरूले निम्न प्रकारका योजना घोषणा गरेका छन्:

ग्राहकलाई लखपति बनाउँदै बजाज

बजाजका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई मध्यनजर गर्दै ‘क्यास सफारी’ अफर ल्याएको छ । कम्पनीले ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।

कम्पनीका अनुसार एक हात्ती बराबर एक हजार रुपैयाँ हुनेछ । कम्पनीले सार्वजनिक गरेको यस स्कीममा बाइक खरिद गर्ने ग्राहकले सहज फाइनान्स सुविधा साथै पाँच वर्षसम्मको वारेन्टी पाउने बताएको छ । त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी गराउने भएको छ ।

होन्डा किन्दा १० लाख हातमा

होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । यो अफर कम्पनीले चाडपर्वमा दुई पाङ्ग्रे सवारी किन्ने ग्राहकहरूलाई लक्षित गर्दै ल्याएको हो ।

कम्पनीका अनुसार होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । ग्राहकले ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिनेछ । ग्राहकले होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।

शतप्रतिशत क्यासब्याकसहित १० लाख उपचारः टिभिएस

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ । यसपटकको पर्वमा कम्पनीले टिभिएसका दुई पाङ्ग्रे सवारी खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ स्कीम ल्याएको हो ।

जगदम्बा मोटर्सका अनुसार टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म जित्न सक्ने छन् । यस स्कीममा हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा एक्सचेन्ज सुविधा, ग्यारेन्टी बिनाको ईजी फाइनान्स उपलब्ध गराउने बताएको छ ।

हिरोका मोटरसाइकलकिन्दा कार जित्न सकिने

सीजी मोटर्सले ‘एक्कासी मालामाल’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैं, तिहार–२०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो ।

सीजी मोटर्सका अनुसार एक्कासी मालामाल अफर अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने छ । हिरोका बाइक तथा स्कुटर किन्दा यसपटको पर्वमा नेटा भी कार जित्न सकिने कम्पनीले बताएको छ । यसैगरी एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो दुई पाङ्ग्रे साधनसँग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यामाहा किन्दा १० लाख क्यासब्याक

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले चाडपर्वलक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले यसपटकको पर्वमा यामाहाका सवारी खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘बिगेस्ट १०शैं’ योजना ल्याएको हो ।

उक्त अफर अन्तर्गत रहेर यामाहाका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म हात पर्ने साथै क्यासब्याक पाउने छन् । नयाँ सवारीको खरिदमा कम्पनीले एक्सचेन्जको सुविधा दिएको छ । यसका साथै कम्पनीले बाइकको खरिदमा सहज फाइनान्सको व्यवस्था पनि मिलाएको छ ।

सुजुकीको कस्तो छ अफर ?

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ‘दशैँ आयो क्यास पायो’ योजना सार्वजनिक गरेको छ । उक्त स्कीममा आकर्षक छुटको व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार यी सवारीको खरिदमा ग्राहकले उक्त स्कीम अन्तर्गत न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । यस्तै, कम्पनीले सुजुकीका बाइक तथा स्कुटर यो चाडपर्वमा लिँदा ५ वर्षको वारेन्टीका साथै निःशुल्क ५ वर्षसम्मको सर्भिसिङ सुविधा पनि दिनेछ ।

भेस्पा र अप्रिलिया किन्दा ७५ हजारसम्म छुट

दशैमा भेस्पा र अप्रिलिया ब्रान्डका स्कुटरको बिक्रेता डेल्टा अटोकर्पले छुट योजना ल्याएको छ । ‘खुशी तीन गुणा’ नामक यो अफरअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटरको हरेक खरिदमा १० हजार देखि ७५ हजार रुपैयाँसम्म नगद छुट साथै ६ हजार रुपैयाँ बराबरको स्मार्ट वाच उपहारमा पाउने छन् ।

डेल्टा अटोकर्प अनुसार यो चाडपर्वमा भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्दा हरेक हप्ता होनर २०० फाइभ जी मोडलको स्मार्ट फोनसमेत जित्ने अवसर सकिने छ । ‘खुशी तीन गुणा’ स्कीममा कम्पनीले ईजी फाइनान्सको सुविधा पनि व्यवस्था गरेको छ ।कम्पनीले बम्पर उपहारको रूपमा कप्पलका लागि ५ दिनको वाली टुर जित्न सक्ने अवसर ल्याएको छ । यसैगरी ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्कुटरसँग एक्सचेन्ज गर्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*